Logo

शिशु गणतन्त्र माँस्ने खेल हुँदैछ : झलनाथ खनाल (वरिष्ठ नेता – एमाले)



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय संसदको निर्वाचन नभएसम्म संविधान संशोधन कुनै पनि हालतमा गर्न नसकिने बताएका छन् । खनालले निर्वाचनको मिति सारेर शिशु गणतन्त्रलाई माँस्ने षड्यन्त्र भैरहेको समेत आरोप लगाएका छन्ठ । निर्वाचन, संविधान संशोधनलगायतका विषयमा पत्रकार ऋषि धमलाले नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

राजपा नेपालका कुनकुन माग पूरा हुन्छन् ?

धेरै माग पूरा भएका छन् । संविधान संशोधन र स्थानीय तहको संख्या थप्नेबाहेक अरु धेरै माग पूरा गर्नको लागि हामी तयार छौँ ।

मुद्दा फिर्ता गर्ने काममा एमाले बाधक हुँदैन ?

सार्वजनिक मुद्दा, शहिद घोषणा, क्षतिपूर्तिलगायतका माग पूरा गर्न हामी तयार छौँ ।

टीकापुर घटनामा संलग्नलाई माफी दिने कुरा नि ?

हामीले गम्भीर अपराधमा सहभागी भएका बाहेक भनेका छौँ । खालि झुटामुद्दा लागेर जेलमा छन् भने ती व्यक्तिलाई भनेका हौँ । जम्मै माग त कसैका पनि पूरा हुँदैनन् । हाम्रा माग कसले पूरा हुने ? काँग्रेसका माग होलान् ? अरुका होलान् ? कसैले पनि ढिपी गरेर हुँदैन । बटमलाइन तयार जसले नि गर्न सक्छ । १४ गते निर्वाचन हुनै पर्छ ।

अन्योल छ नि निर्वाचनको लागि ?

केही छैन । विरोध गर्न मन छ भने गरे हुन्छ । कसैलाई अवरोध गर्नुहुँदैन । त्यसो गर्दा मुठभेड हुन्छ ।

तराईमा त हिजोदेखि मुठभेड सुरु भइसक्यो ?

सुरक्षा किन नगरेको भनेर सरकारसँग सोध्नुस् । निर्वाचनमा भाग लिने जनताको सुरक्षा हुनुप¥यो । संविधान संशोधन अहिले सम्भव छैन । दोस्रो चरणको निर्वाचनपछि हेर्छौँ भनेकै छौँ । सम्भव नभएको बेला कन्कन गर्नुहुँदैन । अहिले निर्वाचन नभए कहिले हुँदैन ।

तर मोर्चा त अझै पनि बाहिर छ नि ?

अनि वारम्वार संशोधनका कुरा किन ? स्थानीय तहको संख्या थप्ने हो भने देशभरि नै थप्नुपर्छ । केको दुई नम्बर र पाँच नम्बरको मात्रै कुरा ? के गर्न खोजेको ? जनसंख्याको कुरा गर्ने हो भने ३ नम्बर प्रदेशको जनसंख्या बढी छ । मोर्चाले खालि तराईमात्र भनेर हुन्छ । अब देश भन्न सक्नुपर्छ । सिंगो देश भन्नुपर्छ । म भन्न छोडेर देश भन्नुप¥यो ।

राजपा नेपाललाई बाहिर राखेर भए पनि निर्वाचनमा जाने हुनुभयो होइन त ?

हामीले स्वागत गरेका छौँ । उहाँहरु आफैं बाहिर जाँदै हुनुहुन्छ ।

अहिलेको निकासमा एमालेले साथ नदिएको गुनासो छ नि ?

यो जनताको कुरा होइन । निर्वाचन सार्न मिल्दैन ।

एमालेको पोजिसन के आउँछ ?

जहाँ गरे पनि एमाले पहिलो हुन्छ ।

दुई नम्बरमा गाह्रो छ भन्छन् नि ?

रेडियोमा बोलेर हुन्छ । सय प्रतिशत एमाले पहिलो पार्टी हो लेखेर राख्नुस् ।

काँग्रेस पहिलो भयो भने ?

त्यसको भोलिपल्ट मलाई सोध्नुहोला ।

सत्तापक्षले दुई नम्बर प्रदेशको निर्वाचन सार्नुपर्ने अभिव्यक्ति दिन थालेको छ नि ?

यो लाचारी हो । अराजकतासामु घुडा टेक्न खोजिँदैछ । सत्तापक्ष गम्भीर छैन । शिशु गणतन्त्रलाई मास्ने खेल हुँदैछ ।

मध्यअसारमा निर्वाचनमा भाग लिन जनता जालान् ?

यिनै लाचार सत्ताभोगीका कारण आज निर्वाचन मध्य बर्खामा पुगेको हो । तर नेपाली जनता निर्वाचनमा भाग लिन तयार छन् । यो दुख सत्तापक्षबाटै भएको हो । गैर जिम्मेवारीपनका कारण भएको हो ।

एमालेले उम्मेदवारी तयार गरेको छैन नि ?

एमालेले धेरैजसो ठाउँमा उम्मेदवारी छनोट गरिसक्यो । केही बाँकी छ– त्यो आज सकिन्छ । हाम्रो दलमा विवाद छैन ।

अध्यक्ष ओली र तपाईंबीच केही विमति छैन ?

भइहाल्छ नि । हल हुँदै जान्छन् । हाम्रो दलको विवाध सीमाभित्रै समाधान गर्छौँ ।

मोर्चाले संविधान संशोधन र एकाइ थप्नुप¥यो भनेको छ नि ?

संविधान संशोधन अहिले सम्भव छैन । एकाइ थप्ने कुरा अदालतले रोकिसक्यो । निर्वाचन निधारित मितिमै हुुनपर्छ ।

सत्तापक्षका नेता २ नम्बर र ५ नम्बरको निर्वाचन सार्नेमा पुगेका हुन् ?

हामीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर भन्दा केही नेताको जिब्रो लट्पटिएको छ । केही नेता कामिरहनुभएको छ । खुट्टा नकमाउनुस् भनेका छौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot