Logo

ओबामाले क्युवासँग गरेको सम्झौता राष्ट्रपति ट्रम्पले रद्द गर्ने



काठमाडौं, ३ असार । अमेरिका र क्युवाबीच भएको सम्झौता रद्द हुने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले क्युवा सरकारसँग गरेको सम्झौता रद्द गर्ने बताएका छन् ।

दुई वर्षअघि अमेरिका र क्युवाबीच चलिरहेको शीतयुद्धकै बीच राजनीतिकसम्बन्ध कायम गर्न सम्झौता भएको थियो ।राष्ट्रपति ट्रम्पले मियामीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका साम्यवादी दमनको विषयमा चुप लागेर बस्न नसक्ने बताए ।

उनले क्युवाविरुद्ध यात्रा र व्यापारसम्बन्धी प्रतिबन्ध लगाएका छन् । यो कडा कदमपछि पनि क्युवासँगको राजनीतिक सम्बन्ध भने अन्त्य भएको छैन ।

क्युवाको हवानामा रहेको अमेरिकी दूतावास भने हालसम्म बन्द गरिएको छैन ।

ट्रम्पले भविष्यमा दुई देशबीचको सम्बन्ध सुधार गर्न क्युवाले आफ्नो देशमा गणतन्त्र र आर्थिक सुधारको कार्यक्रमलाई कसरी अघि बढाउँछ त्यसमा भरपर्ने बताए ।

सन् १९६१ मा एक अर्को देशमा दूतावास बन्द गरेका अमेरिका र क्युवाले ५४ वर्षपछि सन् २०१५ मा आएर दूतावास खोल्न सहमत भएका थिए । यसपछि गतवर्षको मार्चमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओमामाले क्युवाको भ्रमण गरेका थिए । सन् १९५९ पछि क्युवा जाने उनी पहिलो सत्तारुढ राष्ट्रपति थिए । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्

Screenshot