Logo

निर्वाचनको मिति सारेर देउवाले पहिलो अक्षमता देखाए : माधव नेपाल



काठमाडौं, ३ असार । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ को मिति सारेर प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो अक्षमता प्रदर्शन गरिसकेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा सम्बाद क्लब नेपालको १४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘अर्काको उक्साहटमा लागेर चुनावको मिति सार्ने काम जुन भयो, त्यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण कदम हो, यसलाई हामीले कुनै पनि हालतमा मान्न सक्दैनौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेशी मोर्चाको सुरुका माँगहरु दुई वटा मात्रै भएको र ती माँगहरु तत्कालिन प्रधानमन्त्री सुशिला कोइराला नेतृत्वको सरकारले संविधान संशोधनमार्फत सम्बोधन गरिसकेको उल्लेख गर्दै भने,‘तर अहिले उहाँहरुका माँगहरु एकपछि अर्को थपिँदै गैरहेका छन्।’ उनले राजपा नेपालले अहिले संशोधनको निहुँ झिकेर चुनाव नै हुन नदिने षड्यन्त्र गरिरहेको समेत आरोप लगाए ।

उनले भने,‘जे जे उनीहरुका माग छन्, ती सबै पूरा गर्दापनि उनीहरु मान्नेवाला छैनन्, किनकी उनीहरुको मनशाय नै गलत छ ।’ नेता नेपालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुसँग कुनै छलफल नै नगरी चुनावको मिति सारेकोमा पनि आपत्ति जनाए । उनले भने,‘नेकपा एमालेजस्तो बलियो प्रतिपक्ष हुँदाहुँदैपनि उहाँहरुले हामीसँग कुनै छलफल नै गर्नुभएन्, यो त परको कुरा भयो, जसको लागि निर्वाचन सारिएको भनेर हल्ला फैलाईएको छ, स्वयम राजपाले पनि निर्वाचन सारिएको विषयलाई स्वागत गरेको छैन् ।’

नेता नेपालले सरकारले घट्नास्थापनाको अघिल्लो दिन निर्वाचन गर्ने सरकारको निर्णय नै अदुरदर्शी र गलत मनशाय बोकेको आरोप लगाए । उनले भने,‘दशैंमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अहिलेदेखि नै शंका उत्पन्न भएको छ।’

कार्यक्रममा उपस्थिति नेपाली कांग्रेसका नेता एवम् निवर्तमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले कहिल्यैपनि हचुवाको भरमा निर्णय नलिएको उल्लेख गर्दै प्रदेश नम्बर २ मा तेस्रो चरणमा निर्वाचन गर्ने निर्णय पनि सुचबुझका साथ गरिएको दाबी गरे ।

उनले भने,‘जब जब कांग्रेसले मुलुकलाई निकास दिनको लागि, एउटा स्पष्ट दिशा दिनको लागि महत्वपूर्ण निर्णय गर्छ, तब तब उक्त निर्णयका बारेमा टिकाटिप्पणी हुन्छन्, तर ती सबै आरोपहरु ग्लत सिद्ध भएका छन् ।’ नेता महतले दोस्रो चरणको निर्वाचन अन्र्तगर्त प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा सार्ने निर्णयपनि भविष्यमा गएर राम्रो निर्णयको रुपमा सावित हुने दाबी गरे ।

उनले आन्दोलनकारी पक्षलाई जसरी पनि विश्वासमा लिनको लागि कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास दिलाए । उनले भने,‘राजपा नेपाललाईपनि चुनावमा सहभागी गराउनुपर्छ, कांग्रेसले अहिले त्यही पहल गरिरहेको छ।’

उनले आफ्नो पार्टी कांग्रेस रबर भएको समेत दाबी गरे । उनले भने,‘रबर जतिपनि तन्किन सक्छ, तर यो ठाउँमा आँफै आउँछ, त्यसैले मुलुकको निकासको लागि कांग्रेसले खेलेको भूमिकालाई अहिले आलोचना गर्नु व्यर्थ हो।’ महतले स्थानीय निकायको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने समेत स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्