Logo

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ



काठमाडौं ४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङको बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो ।

बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ सहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाउनुभएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो ।

प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ । दार्जिलिङका सांसद अम्बर राईका छोरा उहाँ एनडीटीभी, टीभी चौबिस घन्टासहितका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई मध्यरातमा गिरफ्तार गरेको बताइएको छ । उहाँ सेन्ट जोसेफ क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्छ । मोर्चा कार्यकर्ताले गुम, बिजनवारी, लेबुङलगायत विभिन्न स्थानबाट र्‍याली निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot