Logo

दलहरू तालमेलका लागि दौडधुप गर्दै



काठमाडौं ४ असार ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी हुन राजनीतिक दलले तालमेल र गठबन्धनको रणनीति अपनाउन थालेका छन् । प्रदेश नं १ का महत्वपूर्ण मानिएका जिल्लामा प्रमुख र साना दल पनि चुनावमा विजयी बन्न गठबन्धनको जोडघटाउमा लागेका हुन् ।एमालेले विराटनगर महानगरपालिकामा विनोद ढकाललाई मेयरमा उम्मेदवार घोषणा गर्दा उपमेयर भने खाली राखेको थियो । त्यो रिक्तस्थान पूरा गर्न एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा विराटनगरमा दोस्रो स्थानमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र चौथो स्थानमा रहेको एमालेबीच चुनावी तालमेल भएको छ । फोरमले उपमेयरमा सूची चौधरीलाई उठाउने भएको छ । एमालेसँग तालमेल भएको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष भक्ति माझीले बताउनुभयो । ‘हामीले मेयरमा सघाउने र उपमेयर हामीले लिने भन्ने सहमति भएको हो’, उहाँले भन्नुभयो।

विराटनगरमा फोरमसँग तालमेल भएपछि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । फोरम लोकतान्त्रिकबाट उपमेयर बनेकी चौधरी राजनीतिक पृष्ठभूमि बोकेकी नेत्री हुनुहुन्छ । चौधरी नेपाली कांग्रेसका स्वातन्त्र सेनानी उमालाल चौधरीकी नातिनी हुनुहुन्छ । एमाले प्रदेश नं १ का संयोजक भीम आचार्यले दुवै पार्टीबीच सहकार्य गरेर चुनावमा जाने सहमति भएको बताउनुभयो । प्रदेश नं १ का महत्वपूर्ण मानिएका जिल्लामा प्रमुख र साना दल पनि चुनावमा विजयी बन्न गठबन्धनको जोडघटाउमा लागेका हुन्।

विराटनगरमा फोरम लोकतान्त्रिकको सात हजारदेखि १० हजारको हाराहारीमा मत रहेको पार्टीको दाबी छ । एमाले १८ हजारदेखि २५ हजारको हाराहारीमा आफ्ना मतदाता भएको दाबी गरेको छ ।विराटनगर महानगरपालिकामा कुल एक लाख १२ हजार ८ सय ३२ मतदाता छन्, जसमा ६० हजार एक सय १९ पुरुष र ५२ हजार ७ सय १३ महिला छन् । १९ वटा रहेको विराटनगरभित्र मोरङको ५, ६ र ७ नं निर्वाचन क्षेत्र पनि पर्छन् । तीनवटै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तीमध्ये एउटा क्षेत्रमा फोरम लोकतान्त्रिक दोस्रो स्थानमा थियो । मोरङको बेलबारी र पथरीमा संघीय समाजवादी र नयाँ शक्तिबीच तालमेल भएको छ ।
माओवादीले नयाँ शक्तिलाई सघाउने
सुनसरीको धरानमा उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको छ । वडामा भने माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई पनि सघाउने भएको छ । धरानको मेयरमा समाजवादी केन्द्र र उपमेयरमा समाजवादीका उम्मेदवारलाई सघाउने सहमति भएको छ । धरानका २० वटै वडामा दुवै पार्टीबीच तालमेल गरी चुनाव लड्ने सहमति भएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले बताउनुभयो । वडा नं १६ मा भने नयाँ शक्तिका वडाध्यक्षलाई माओवादी केन्द्र र संघीय समाजवादीले समर्थन गरी सहयोग गर्ने भएका छन् । तालमेलको सहमतिअनुसार माओवादीका केन्द्रीय सदस्य अइन्द्रविक्रम बेघालाई मेयरमा र समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राईलाई उपमेयरमा एकअर्काबीच सहयोग आदानप्रदान गर्ने सहमति भएको हो । माओवादी पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बोले भन्नुभयो, ‘पहिचानवादी दुई पार्टीबीच तालमेल गरेर मेयर र उपमेयरमा दुवै पार्टीका उम्मेदवार विजयी हुने विश्वास लिएका छौं ।’

धरानका २० वटै वडामा दुवै पार्टीबीच तालमेल गरी चुनाव लड्ने सहमति भएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य ध्यानबहादुर राईले बताउनुभयो । ‘यो तालमेलले चुनाव जित्न दुवै पार्टीलाई सहज हुन्छ’, उहाँले भन्नुभयो । माओवादी र समाजवादीका मेयर÷उपमेयरका उम्मेदवारलाई नयाँ शक्ति नेपालले समेत समर्थन गर्ने भएको छ ।

एमाले र माओवादीबाहेक सबै तालमेलमा
धनकुटामा एमाले र माओवादी केन्द्रबाहेक सबै दलले चुनावी तालमेल गरेका छन् । तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तहमा एमाले र माओवादी केन्द्रले कुनै दलसँग तालमेल गरेका छैनन् । कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका छन् ।

धनकुटामा कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ । फोरमले एकजना वडा सदस्य लिएर कांग्रेससँग चुनावी तालमेल गरेको हो । मेयर र उपमेयरमा सघाउने गरी फोरम नेपालले वडा नं ७ को एकजना सदस्यमा उम्मेदवारी दिन लागेको छ । कांग्रेसका तर्फबाट मेयरमा दिनेश राई र उपमेयरमा रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । एमालेले मेयरमा चिन्तन तामाङ र उपमेयरमा शकुन्तला बस्नेतलाई बनाएको छ । माओवादीले मेयरमा गणेश विष्ट र उपमेयरमा विष्णुमाया कन्दङ्वालाई अघि सारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीने बालनन्द भूर्तेललाई मेयर र उपमेयरमा ताराकुमारी तामाङलाई उम्मेदवार बनाएको छ ।

साँगुरीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस र संघीयबीच तालमेल भएको छ । त्यहाँ प्रमुखमा कांग्रेसबाट जितेन्द्र राई र उपप्रमुखमा संघीयका बलबहादुर राई उम्मेदवार हुनुभएको छ । साँगुरीगढी गाउँपालिकाको केही वडामा तालमेल भएको कांग्रेस क्षेत्र नं १ क्षेत्रीय सभापति जितेन्द्र राईले बताउनुभयो ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्