दाङ, ६ असार । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।
यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।
पछिल्लो सङ्घात्मक संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलहरुले पूरा गर्न नसकेको महिलाले बताएका छन् । “हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ” – महिला नेत्री देविका नेपालीले भन्नुभयो ।
अन्य समयमा दलहरुले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । यसले गर्दा महिलाका बारेमा अझै पनि समान दृष्टिकोण नपुगेको महिला चन्द्रा वलीले बताउनुभयो ।
“भाषण र दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलालाई उपप्रमुखमै र उपाध्यक्षमै चित बुझाउनुपरेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”– उहाँले भन्नुभयो ।
यहाँ रहेका मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले)ले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिकामा कुनै पनि महिलालाई प्रमुख पदमा राखेको छैन भने नेकपा (माओवादी केन्द्र)ले भने लमही नगरपालिकाको प्रमुखमा द्रोपती पौडेललाई प्रमुख पदको टिकट दिएको जनाएको छ ।
त्यस्तै, एमाले दाङले उपमहानगरपालिका ३८ वटा वडामध्ये तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ मा सुशीला आचार्य र राप्ती गाउँपालिकाको वडा नं १ मा रत्ना श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाएको नेकपा (एमाले) दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरबाटै नाम छनोट गरी पठाउँदा कुनै पनि महिलाको नाम नआएको र आएको स्थानमा पार्टीले टिकट दिएको बताउनुभयो ।
त्यस्तै, काँग्रेसले पनि दाङको एउटा वडामा मात्र प्रमुख पदमा महिलालाई वडाध्यक्षको टिकट दिएको छ । काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ मा चित्रा गिरीलाई वडाध्यक्षको टिकट दिएको काँग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले जिल्लाका अन्य स्थानमा महिलालाई सदस्यमा धेरै टिकट दिए पनि मुख्य पदमा भने कसैको प्रतिनिधित्व नभएको बताउनुभयो । रासस