Logo

फाइल अड्काउने काम बन्द गर्न मन्त्री साहको निर्देशन



काठमाडौँ, ६ असार । सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि आज उहाँले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्री साहले भन्नुभयो, “फाइल महिनौँ अड्काएर राख्ने गरेको गुनासो धेरै छ, हुने काम भए तुरुन्त अघि बढाइदिनुहोस्, नहुने काम भए कारण खोलेर जानकारी दिनुहोस्, क्षेत्राधिकार बाहिरको विषयवस्त आए आफूभन्दा माथिल्लो निकायमा पठाइदिनुहोस् ।”

कसको शाखामा गएर कति दिन फाइल अड्कियो भन्ने विवरण लिएर सोही अनुरुपको कारबाही गरिने व्यवस्था मिलाउन आफूले सचिवलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उहाँले मन्त्रालय अन्तर्गतका निकायबाट भइरहेको भौतिक पूर्वाधार निर्माणका काम समयमै सम्पन्न नहुनुका कारण खोज्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री साहले भन्नुभयो, “ठेक्का दिने निकायका हाकिम र ठेकेदारको मिलेमतोको कारण निर्माण कार्य गुणस्तरीय नहुने र ढिलाइ हुने गरेको आम गुनासो छ, यसबारे तपाईंहरु सचेत हुनुहोस् ।”

उहाँले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कालोसूचीमा राखी कानुन अनुसारको कारबाही अगाडि बढाउन पनि निर्देशन दिनुभयो । मन्त्री साहले भन्नुभयो, “विगतका वर्षहरुमा द्वन्द्व र आन्दोलनका कारण निर्माणमा ढिलो हुँदा स्वाभाविक मान्न सकिन्थ्यो, गत आर्थिक वर्षमा त्यस्तो आन्दोलन भएन, त्यसैले यसपटक नियतवश ढिलाइ गर्नेलाई छुट नदिनुहोस् ।”

राजधानीको धुलो व्यवस्थापन अगाडि बढाउन, मन्त्रालयको पुँजीगत खर्च बढाउन आवश्यक कार्ययोजना ल्याउन तथा सरकारी निकाय बीचको समन्वयलाई तीव्रता दिन उहाँले निर्देशन दिनुभयो

सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माले मन्त्रालय र सो अन्तर्गतका निकायका कार्यालयमा कर्मचारी ढिलो आउने र चाँडो जाने प्रवृत्ति बढेकाले त्यसको निगरानी गर्न सबै कार्यालयमा ‘इलेक्ट्रोनिक हाजिरी’को अभिलेख हेर्ने गरी एकजना कर्मचारीलाई खटाउन निर्देशन दिदैं ती कर्मचारीले नियमित रुपमा दिएको विरणका आधारमा कारबाही अगाडि बढाइने बताउनुभयो ।

सो अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायबाट हुने गरेका कामकारवाही, समस्या र चुनौती तथा आगामी आर्थिक वर्षको योजनाबारे मन्त्री साहलाई विस्तृतमा जानकारी गराएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्