Logo

“धमलाजी, कम्तिमा हाम्रा मुद्दाहरुपनि यहाँले उठाउनुपर्यो, अन्याय नर्गुहोस्’ : रामनरेशराय यादव



काठमाडौं, ७ असार ।राजपा नेपालका शीर्ष नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर राजपालाइ चुनावमा जान रोकेको आरोप लगाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘राजपा नेपाल गठन भैरहँदाखेरि नै हामीविरुद्ध तानाबाना बुन्ने काम भएका छन, उनीहरुको जग हल्लिएको थियो, त्यही भएर चुनावमा हामीलाई जानबाट रोक्नको लागि बेरियर हाल्ने काम भएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा उनले काठमाडौंमा बसेर कसैले यति भोट ल्याउँछौं वा उति भोट ल्याउँछौं भनेर कसैलेपनि ठूला कुरा गर्न नहुने भन्दै चुनावमा आफूहरुलाई जान दिएको भए सबै हिसाबकिताब हुनेथियो भन्दै चूनौति दिए ।

उनले क्लबका सभापति ऋषि धमलाको नामै लिएर अब ठूला दलहरुकोमात्रै गुनगान र बहस नगर्नको लागि आग्रह समेत गरे । उनले भने,‘धमलाजी, कम्तिमा तपाईसँग पनि हामीले ठूलो आशा राखेका छौं, हाम्रा मुद्दाहरुपनि यहाँले उठाउनुपर्यो, अन्याय नर्गुहोस्।’

उनले आफ्नो पार्टी मुद्दाबाट एक ईन्चपनि तलमाथि नहुने जिकिर गरे । उनले भने,‘हामी हाम्रो मुद्दाबाट एक ईन्चपनि तलमाथि हुँदैनौं।’ उनले राज्यले मधेशलाई विभेद गरेको समेत आरोप लगाए । उनले भने,‘विभेदले बिद्रोह जनमाउछ र बिदोहले बिखण्डन जन्माउँछ ।’

उनले मधेसले निर्वतमान प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिश्वास गरेको तर प्रचण्डले आफूहरुलाई बिश्वासघात गरेको आरोप लगाए ।

उनले मधेसको समस्या समाधान नगरी चुनाव हुन नसक्ने र राजपाले भाग नलिने र असोजमा पनि हुन नदिने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्