Logo

गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन : ‘प्रचण्ड’



असार ७, बेल्टार । अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताउनु भएको छ । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘गाउँमा किसानले बाली रोप्छ, गोड्छ, मलजल गर्छ, काट्छ । तर, भित्राउने बेला सामन्त टुप्लुक्क आइपुग्छ र आफ्नो भकारीमा भित्राउँछ । देशमा माओवादीले गणतन्त्र, संघीयता, सामाजिक न्याय, सामावेशी–समानुपातिक, आर्थिक विकास, समृद्धि ल्यायो । तर, खाने बेला पुरानै एमाले कांग्रेस टुप्लुक्क आउने गरेका छन् । गणतन्त्र कांग्रेस एमालेको बाली होइन, कांग्रेसका लागि गणतन्त्र रुचिको विषय थिएन ।”

प्रचण्डले भन्नुभयो,” एमाले त गणतन्त्र विरोधी नै थियो । नेताहरु बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्थे । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी सिद्धान्त, आर्थिक विकास र समृद्धिको बाली पाक्दैछ, असार १४ गते हुने चुनावले त्यो बाली भित्राउँछ । फेरी पनि पुरानै सामन्तहरु जनताले लगाएको बाली आफ्नो भकारीमा भित्राउने दाउ हेर्दैछन् । यसपालि जनताले लगाएको गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन । माओवादी केन्द्रलाई जिताएर जनताले आफ्नो बाली आफै भित्राउनुपर्छ ।’

माओवादी नेतृत्वको सरकारले युवाहरुको हित र दीर्घकालीन विकासका लागि महत्वपूर्ण काम गरेको प्रचण्डले बताउनु भयो । कार्यक्रममा चौदण्डीगढी नगरपालिका मेयरका उम्मेदवार कुमारसिंह कार्की र उपमेयर मायादेवी राईले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot