Logo

माओवादीले दश वर्ष नेतृत्व पाए देशमा चमत्कार हुन्छ : ‘प्रचण्ड’



असार ७, रामपुर, उदयपुर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले दश वर्ष देशको नेतृत्व गर्न पाए नेपालमा चमत्कार हुने बताउनु भएको छ ।

ने.क.पा. (माओवादी केन्द्र) ले उदयपुरको रामपुरमा आयोजना गरेको जनसभामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘चाह्यो भने समृद्धि हाम्रै पालामा सम्भव हुने रहेछ । मैले सरकारको नेतृत्व गर्दैगर्दा देश अस्तव्यस्त थियो । राजनीतिक झमेला चरम सीमामा थियो । महङ्गी, बन्द, हड्तालले देश आक्रान्त थियो, देश चरम आर्थिक र राजनीतिक संकटमा थियो । तर, मैले सरकारको नेतृत्व गरेपछि देश क्रमशः राजनीतिक स्थिरता, संविधान कार्यान्वयन, विकास र समृद्धिको बाटोतिर गयो । इमान्दारिता र ईच्छाशक्ति भयो भने १० महिनाको छोटो अवधिमा यति धेरै काम गर्न सकिने रहेछ, माओवादीले दश वर्ष देशको नेतृत्व गर्ने अवसर पाए नेपालमा चमत्कार हुन्छ ।’

माओवादी नेतृत्वको सरकारको दश महिने कार्यकाल नेपालको इतिहासमा स्वर्णीम् काल रहेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालको आर्थिक वृद्धिदर ७.५% छ, यो विश्वमै तेस्रो हो, आर्थिक वृद्धिमा हामीले छिमेकीलाई पनि उछिनेका छौं । लोडसेडिङ अन्त्य भएको छ, यसले गरे सकिन्छ भन्ने सन्देश राष्ट्र र जनतामा गएको छ । विकास आयोजनाहरुमा ठूलो प्रगति हासिल भएको छ । गाउँ–नगरमा करोडौं रुपैयाँ गएको छ, गणतन्त्रले के दियो भन्नेहरुलाई स्थानीय तहको निर्माण र स्थानीय तहमा पठाइएको खरबौंको बजेटले गतिलो जवाफ दिएको छ ।’

माओवादी बिना स्थानीय तह निर्माण र स्थानीय तहको निर्वाचन दुवै सम्भव नभएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादी नभएको भए स्थानीय तहको निर्माण नै हुने थिएन, गाउँपालिका र नगरपालिका अनि स्थानीय सरकार बन्दैनथे । कांग्रेस–एमालेहरु गाबिसकै चुनाव गर्ने र गाबिसमा २५ लाख पठाउने पक्षमा थिए । यो देशमा माओवादी भएका कारण नै त्यो तोडिएको छ, सिंहदरबारको अधिकार गाउँमा आएको छ, खरबौंको बजेट स्थानीय तहमा पठाइएको छ । समग्रमा माओवादी र माओवादी एजेण्डाले जितेको छ ।’

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट बेलका नगरपालिकाका मेयरका उम्मेदवार रमन भट्टराई र उपमेयरका उम्मेदवार गंगासरी राईले नगरको विकासबारे आफ्नो धारणा राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्