नवलपरासी, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गर्नुभएको छ ।
चौधरी गु्रपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शास्वतधामको सोमबार अवलोकनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । शास्वतधामले समग्र नेपालको गौरव बढाएको दाबी गर्दै नेता पौडेलले यसको निर्माणले सनातन हिन्दूधर्मको रक्षा गर्ने समेत बताउनुभयो ।
नेता पौडेलले भन्नुभयो “चौधरी गु्रपको अथक मेहनत र परिश्रमले गर्दा नेपालको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहज भएको छ, अब धार्मिक दृष्टिकोणका कारण पनि यो शास्वतधाम पनि नेपालको धार्मिक सम्पत्ति बन्नेछ ।”
शास्वतधाम परिसरमा रहेको धार्मिक सङ्ग्रहालय तथा चौधरी उद्योग ग्रामभित्र रहेको इतिहास सङ्ग्रहालयको अवलोकन गर्दै नेता पौडेलले नयाँ पुस्ता र सन्ततिलाई यो सङ्ग्रहालय धेरै महत्वपूर्ण रहने बताउनुभयो ।
नेपालको ऐतिहासिक वस्तु र अवस्थाको स्मरण दिलाउने सङ्ग्रहालयले शास्वतधामको महिमा थप हुँदै जानेसमेत उहाँले बताउनुभएको छ । धार्मिक अध्ययन गर्नेका लागि शास्वतधाम एक प्रमुख धरोहरको रुपमा रहेको उहाँले बताउनुभयो ।
विनोद चौधरीको मेहनतको प्रशंसा गर्दै नेता पौडेलले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा चौधरी उद्योग ग्रामले अतुलनीय सहयोग गरेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा कमाउन सफल शास्वतधामको अवलोकन गर्न वरिष्ठ नेता पौडेलसहित १२ जनाको टोली चौधरी उद्योग ग्राममा आएको थियो । रासस