Logo

एकै दिन पाँच करोडको दही बिक्री



काठमाडौं १६ असार । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको हो । असार १५ मा दही र च्युरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । माग अत्यधिक भएकाले ठूला उद्योगीलाई यो दिन भ्याइनभ्याइ हुन्छ । असार १४ गतेदेखि नै आम उपभोक्ताले दहीको जोहो गरी घरमा राख्ने गर्छन् । माग बर्सेनि बढ्दै गए पनि यही समयमा हुने कच्चा दूधको अभावका कारण माग पूरा गर्न नसकिएको उद्योगीको भनाइ छ । यो वर्षको असार १५ गतेलाई लक्षित गरी औपचारिक र अनौपचारिक क्षेत्रका गरी चार लाख लिटर दही बिक्री भएको छ । यसलाई पैसामा परिणत गर्दा एक दिनमा पाँच करोड ६ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको दहीको कारोबार भएको छ ।

उपत्यकामा मात्रै यो परिमाणमा दहीको कारोबार भएको हो । यसमध्ये गल्ली र चोकमा अनौपचारिक रूपमा खुलेका साना पसल (राज्यको कानुनी दायराभन्दा बाहिरका पसल) बाट भने औपचारिक क्षेत्रको तुलनामा दोब्बर परिमाणमा दहीको उत्पादन र बिक्री भएको छ । यस्तो क्षेत्रबाट तीन करोड १६ लाख २० हजार मूल्य बराबरको दुई लाख ६३ हजार पाँच सय लिटर दही कारोबार भएको व्यवसायीले बताएका छन् । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले दूधको अभाव नभएको भए औपचारिक र अनौपचारिक क्षेत्रबाट गरी झन्डै ६ करोडको दहीको कारोबार हुनसक्ने बताउनुभयो । ‘दूधको अभाव र यातायात सहज भएको भए थप एक करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार हुन्थ्यो’, अध्यक्ष राजभण्डारीले अन्नपूर्णसँग भन्नुभयो, ‘दही बनाउन मलाई नै दूध अपुग भयो ।’

उहाँले थप १५ हजार लिटर दही तयार पार्ने योजना भए पनि नारायणघाट—मुग्लिङ सडकखण्ड क्षतिग्रस्त र जामका कारण बाहिरी जिल्लाबाट दूध आपूर्ति गर्न सक्नुभएन् । दुई दिनअघि झापाबाट महँगो ढुवानी खर्चमा भित्र्याएको दूधबाट दही तयार पारी बिक्रीका लागि बजार पठाएको उहाँले जानकारी दिनुभयो । सामान्य दिनमा एन्डिज नेपाल डेरीले ६ हजार लिटर दही बिक्री गर्दै आएको छ । एन्डिज नेपाल डेरी उद्योगका सञ्चालकसमेत रहेका राजभण्डारीले बिहीबार ४२ लाख मूल्य बराबरको ३५ हजार लिटर दही बिक्री गर्नुभएको छ । प्रतिलिटर एक सय २० रुपैयाँमा उहाँले दही बिक्री गर्नुभएको छ । असार १५ लाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी), एन्डीज नेपाल डेरी, काठमाडौं डेरी र भक्तपुर क्षेत्रबाट मात्रै एक करोड ९० लाख १२ हजार पाँच सय मूल्य बराबरको एक लाख ३६ हजार पाँच सय लिटर स्पेसल र सुगर फ्री दही बिक्री भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्