Logo

पार्टी छोडेर चुनावमा गएकाहरु अब हाम्रो पार्टीमा रहँदैनन् : लक्ष्मणलाल कर्ण, नेता-राष्ट्रिय जनता पार्टी



राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले असोज २ गते हुने प्रदेश नम्बरको दुईको निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने कुरा अहिलेसम्म निश्चित नभएको स्पष्ट पारेका छन् । उनले चुनावमा जानुभन्दा पहिले नै आफूहरुले राखेका माँगहरु पूरा हुनुपर्ने माँग गरेका छन् । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले नेता कर्णसँग गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय जनता पार्टी असोज २ गते हुने निर्वाचनको तयारीमा जुटेको हो ?

हामी प्रदेश नम्बर २ को निर्वाचनमा सहभागि हुने वा नहुने निश्चित भइसकेको छैन । हाम्रो पार्टी अहिले जनताको माझमा बसेको छ । जनताको हितका निम्ती आन्दोलन गरिरहेका छौँ । राजपा जनताको भावना अनुसार चलिरहेको छ । त्यसैले चनावमा जाने वा नजाने कुरा जनताको हितका लागि हामीले राखेको माग पूरा हुन्छ वा हुँदैन भन्नेले निर्भर गर्छ । प्रस्तावित संविधान संशोधनले प्राथमिकता पाएको छैन । अझैपनि राज्यले संविधान संशोधनलाई गम्भिर रुपमा लिएन भने हामी चुनावमा भाग लिदैनाँै । त्यो परिस्थिति आउनु भनेको देशका लागि दुर्भाग्य हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त चुनाव हुन्छ भन्नुभएको छ नि ?

शेरबहादुर देउता होइन्, शेरबहादुर देउवा नाम मात्रै हो । त्यसैले उहाँले भनेको कुरा हुन्छ भन्ने ग्यारेन्टी छैन । यदी देशलाई राम्रोसँग सम्हाल्ने हो भने सबैको मनोभावना बुझ्न सक्नुपर्छ ।

क्षेत्रिय वा जातिय पार्टीको औचित्य छैन भन्ने सन्देश दिएका छन् नि जनताले । के भन्नुहुन्छ ?

अरुले राज्य वा पहिचान माग्दा जातिय भन्न मिल्दैन । बाहुन क्षेत्री मिलेर देश चलाउने अनि अरुलाई चाँही जातियतासँग जोड्न मिल्छ ? अहिले नेपाल राज्यको सम्पूर्ण चरित्रमा बाहुन बसेको छ । कर्मचारीतन्त्र, न्यायालय, सेना, प्रहरी, बैँक तथा वित्तिय संस्था सबैमा बाहुन क्षेत्रीको हालिमुहाली छ । यो हो जातियता ।

स्थानीय तहको चुनावमा तराई÷मधेशबाट त अन्य क्षेत्रबाटझैँ नै मतदान गरे जनताले । तर तपाईहरु चुनाव बहिस्कार गर्ने अनि जनताको माझमा छौँ भन्न मिल्छ ?

हो, मतदानमा जनता सहभागि भए, तर कसरी भए भन्ने कुरा महत्वपूर्ण हो । भोज भतेर खुवाएर जनतालाई भोट हाल्न लगाइएको छ । मतदाताको चरित्र कसरी प्रस्तुत हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । मतदाताको चरित्र र आन्दोलनकारीको चरित्र एउटै हुँदैन ।

यहाँकै पार्टीका नेताहरु स्वतन्त्र रुपमा चुनावमा उम्मेदवार बने । यसले त नेता तथा कार्यकर्ता समेत चुनाव चाहन्छन् भन्ने देखाउँछ नि ?

केही व्यक्ति पार्टी छोडेर चुनावमा गए होलान् । पार्टी छोडेर चुनावमा गएकाहरु अब हाम्रो पार्टीमा रहदैनन् ।

तपाईहरु चुनावमा नजाँदा त्यस क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाउँदैनन् नि ?

यो चुनावले विकास गर्छ भनेर जनतामा फैल्याइएको भ्रम मात्रै हो । चुनावले राष्ट्रिय ढुकुटी सक्ने काम मात्र गरेको छ ।

मधेश क्षेत्रमा भएका समस्या समाधान गर्नका लागि यहाँहरुले के गर्नुभयो ?

हामीले किन गर्ने ? हामीलाई त्यसको मतलब हुँदैन । किनकी हामी राज्य संचालक होइनौँ । मधेशको समस्या समाधान हुन नसक्नुमा राज्यको दोष हो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot