Logo

नेपाल–भारतबीच विकास सहयोग विषयमा छलफल



काठमाडौँ, १९ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महरा र भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजबीच आज नयाँ दिल्लीमा भएको भेटमा हालका दिनहरुमा नेपाल–भारत सम्बन्धले राम्रो प्रगति गरिरहेको र दुई देशबीचको मैत्री सम्बन्ध विभिन्न तहमा भएको भ्रमणले अझ बढी सुदृढ भएको विचारको आदानप्रदान भएको छ ।

दुवै नेताहरुले दुई देशबीचको विकास सहयोग, व्यापार र पारवहन, सीमापार पूर्वाधार, जलविद्युत् परियोजनालगायत विषयमा विस्तृत समीक्षा र छलफल गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको सामाजिक, आर्थिक विकासका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । भारतीय विदेशमन्त्री स्वराजले नेपालमा स्थानीय तहको दुई चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाल सरकारलाई बधाई दिनुभयो ।

विदेशमन्त्री स्वराजले आजै उपप्रधानमन्त्री महराको सम्मानमा रात्रि भोजको आयोजना गर्नुभयो । मन्त्री महरा मङ्गलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्