Logo

चुनाव अघि संशोधन प्रस्ताव पारित नभए हामी निर्वाचनमा भाग लिँदैनौं : झा



काठमाडौं, २० असार । राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनअघि नै आफूहरुको माँग पूरा नभए कुनैपनि निर्वाचनमा राजपाले भाग नलिने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा झाले भने,‘चुनाव अघि हाम्रा माँगहरु पूरा भए हामी निर्वाचनमा जान व्यग्र प्रतिक्षामा छौं, हामी निर्वाचन विरोधी होईनौं नि।’ उनले असोज २ गतेको लागि सारिएको प्रदेश नम्बर २ को निर्वाचन पनि आफूहरुको सहमतिमा नसारिएको जिकिर गरे ।

उनले भने,‘हामी त सबै चरणको निर्वाचनमा भाग लिन चाहन्थ्यौं, तर हामीमाथि धोका भयो, हामीले दोस्रो चरणको निर्वाचनमा पनि भाग लिन्छौं तर हाम्रा माँगहरु पूरा गरिदिनुहोस् भनेका थियौं, तर उहाँहरुले केही पनि गर्नुभएन।’

झाले एमालेलाई आफूहरुले निषेधको राजनीति नगरेको समेत जिकिर गरे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्र मिलेर संविधान जारी गरे, एमालेसँग त हामीले ३६ पटकसम्म वार्ता गरेका छौं।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला एमालेलाई सहभागी हुनै नदिएर कांग्रेस र माओवादी केन्द्रले षड्यन्त्र गरेको आरोप लगाए ।

अहिलेको सरकारले आफूहरुलाई धोका दिएकोले यसको चर्को मुल्य वर्तमान सरकारले पनि चुकाउनुपर्ने उनको चेतावनी थियो । झाले भने,‘एक दुई दिनभित्रै हामी निश्कर्षमा पुग्छौं, समर्थन फिर्ता देखि लिएर आन्दोलनका कार्यक्रमहरु अघि सार्छौं।’

झाले राजपा नेपाल दल दर्ताको प्रक्रियामा रहेको समेत जानकारी दिए । उनले भने,‘पार्टीको विधान तथा घोषणापत्र तयारीको लागि अध्यक्ष मण्डलका सदस्यहरुको छलफल जारी छ, एक दुई दिनभित्रै सबै फाईनल हुन्छ।’ त्यस्तै उनले पार्टीको चुनाव चिन्ह छाता नै लिने र निर्वाचन आयोगले पनि दिने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्