Logo

वन अतिक्रमण परेकामा सांसदहरुद्वारा चिन्ता व्यक्त



काठमाडौँ, २२ असार । राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेका र सरकारी निकायले ध्यान दिन नसक्दा वातावरण र पर्यावरण क्रमशः सङ्कटमा पर्दै गएकामा सांसदहरुले चिन्ता व्यक्त गर्नुभएको छ ।

भूमिहीन तथा सुकुम्बासीको नाममा समेत वन क्षेत्र अतिक्रमण भएको, राष्ट्रिय वन क्रमशः नासिँदै गएको, चुरे विनाशका कारण मुलुकको तराई तथा मधेश क्रमशः मरुभूमीकरण बन्दै गएको, पानीको स्रोत सुकेको, वातावरण विनाशका कारण हिमनदी सुक्न थालेको भन्दै उहाँहरुले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँहरुले वन तथा पर्यावरण प्राण वायु भएकाले संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद काशीनाथ अधिकारीले वातावरण र पर्यावरण क्षेत्रमा बढेको मानवीय अतिक्रमणका कारण जनजीवन नै प्रभावित हुन पुगेको बताउनुभयो ।

सांसद अमरबहादुर थापाले पनि वन जीवन भएकाले यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु मीना पुन, नरबहादुर थापा र अनुराधा थापाले व्यवस्थित शहरीकरणका लागि सरकार र सरोकार भएका निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक शुक्रबार बिहान ११ः०० बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्