Logo

सीप व्यवहारमा उतार्नुस् : इजरायली राजदूत यारोन



बनियानी (झापा), २४ असार । नेपालका लागि इजरायली राजदूत यारोन मायेरले कृषि अध्ययनका लागि इजरायल राम्रो अवसर भएकाले नेपाली युवालाई त्यसको भरपूर उपयोग गरी व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

इजरायलबाट कृषि अध्ययन सकेर आएका झापाली युवाले पहिलो पाइला कृषि सहकारी संस्थामार्फत भद्रपुर–८ मा सञ्चालनमा ल्याएको ‘एग्रो मार्ट र एग्रो मिट’को यहाँ शुक्रबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “इजरायलमा गएर कृषि अध्ययन गरेर नेपाल फर्किएका युवाले के गर्दैछन् भन्ने बुझ्न पनि म यहाँ आएको हुँ, यहाँका युवाले गरेको काम देखेर म ज्यादै खुशी छु ।”

राजदूत मायेरले सिकेको सीपलाई व्यवहारमा उतारेमा नेपाललाई इजरायलजस्तै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

भद्रपुर–८ सगरमाथा चोकमा रहेको सहकारी संस्थाबाट सञ्चालित तरकारी, फलफूल र मासुजन्य पदार्थका दुई भिन्दाभिन्दै पसल सञ्चालनमा ल्याएको छ । पसल रु १५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।

संस्थाका सदस्य रमेश भट्टराईले कृषि औजार, मल, बीउलगायत सामग्री सहकारीबाट उपलब्ध गराइने र किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा खरिद गरिने बताउनुभयो ।

सो अवसरमा इजरायलमा रहेर एक वर्ष कृषि अध्ययन गरी फर्केका रमेश भट्टराई, वीरेन गुरागाईं, निर्मल दाहाल, इनसार मगर, मिलन राजवंशी, सञ्जय गिरी, कमला गिरी, गङ्गा खरेललगायत १३ जनालाई कदरपत्रसहित सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्