Logo

संसदको गणितिय आधारमा एमालेले राष्ट्रलाई बन्धकमा राख्यो : दिनानाथ शर्मा



संविधान संशोधनको प्रयास टर्दै गएको छ । नेकपा एमालले संशोधनमा सहमति नदिएपछि सत्तारुढ दलहरु पछि हट्ने संकेत देखिएको छ । संविधान संशोधनको विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मासँग कुराकानी गर्नुभएको छ ।

संविधान संशोधनको प्रस्ताव टरेको हो ?
संशोधन प्रस्ताव टरेको छैन । संशोधनका लागि दलहरुबिच छलफल भइरहेको छ ।

दिनानाथ शर्मा, नेता, नेकपा माओवादी केन्द्र

पुष्पकमल दाहालले नै संशोधन प्रस्ताव थाती राखौँ भन्ने प्रस्ताव अघि सार्नुभएको होइन ?
प्रदेश नम्बर २ को चुनावपछि संविधान संशोधनको कुरा टुङ्गो लगाउने भन्ने कुरा गरिएको हो । संविधान संशोधन नै नगरौँ भनेको होइन । तर चुनाव अघि पनि सहमति भयो भने संशोधन हुन्छ । हामीले सबै विकल्पमा छलफल गरिरहेका छाँै ।

सहमतिको पहल पर्याप्त रुपमा गर्नुभएको छ ?
संशोधन प्रस्तावलाई पारित गराउनका लागि सबैभन्दा धेरै मिहिनेत र प्रयत्न गर्ने पार्टी नै माओवादी केन्द्र हो । अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भएकै बेलादेखि सहमतिका लागि अत्याधिक पहल गर्नुभएको थियो । हामीले गरेको पहलको विषयमा राजपा लागायत सबै पक्षलाई राम्रोसँग थाहा छ ।

दाहाल प्रधानमन्त्री हुँदा संविधा संशोधन हुन सकेन । तपाईहरुले अत्याधिक पहल गर्नुभयो भन्ने आधार के छ ?
सरकारले त पहल गर्ने मात्रै हो । संविधान संशोधन त संसदले गर्ने हो । संशोधनका लागि संसदमा दुई तिहाई बहुमत नपुगेपछि सरकारले केही गर्न सक्दैन । मन्त्रीपरिषदले निर्णय गरेर संविधान संशोधन हुने भए दाहाल प्रधानमन्त्री हुँदा भइसक्थ्यो । यो कुरा सबैले बुझ्नु जरुरी छ ।

संविधान संशोधन हुन नसक्नुको खास कारण के हो ?
प्रमुख कारण भनेको त संशोधनका लागि आवश्यक महुमत नपुग्नु नै हो । दुई तिहाई बहुमत नपुग्नुको कारण नेकपा एमालेले सहमतिमा नआएकाले हो । हामीले त सहमती गराएर संशोधन गर्ने प्रयास गरेकै छाँै नि । तर संसदको गणितिय आधारमा राष्ट्र बन्धकमा परेको छ । योभन्दा विडम्बना अरु केही हुन सक्दैन ।

 



प्रतिक्रिया दिनुहोस्