Logo

सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्छ : सभामुख घर्तीमगर



काठमाडौँ, २८ असार । सभामुख ओनसरी घर्तीमगरले संविधानले सबै जाति समुदायका भाषा तथा संस्कृतिलाई महत्व दिएकाले सर्वस्वीकार्य भाषिक नीति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

भाषा आयोगले आज आयोजना गरेको ‘भाषा आयोगको संवैधानिक दायित्व र भावी मार्गचित्र’ विषयक गोष्ठीमा उहाँले संविधानमा भाषिक विविधतलाई प्राथमिकतामा राखिएको बताउँदै अल्पमतमा रहेका भाषालाई सन्तुलित र समावेशी बनाउन आयोगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदत्रय गणेशमान गुरुङ, गोपाल दहित र अईन्द्रसुन्दर नेम्वाङले राजनीतिक दलका फरक मान्यता र दर्शन भए पनि भाषाको संरक्षण गर्नका लागि ऐक्यबद्धता व्यक्त गर्दै मुलुकमा बसोबास गर्ने सबै जाति तथा समुदायका भाषा र संस्कृतिको खोज अनुसन्धान गर्न सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल, पूर्व सांसद विदुरप्रसाद पौडेल, संघीय समाजवादी पार्टीका नेत्री सोनी लामाले देशको भाषिक विविधतालाई जगमा राखेर निर्माण भएको संविधान तथा संघीयता कार्यान्वयनका लागि भाषाको समूचित व्यवस्थापन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

आयोगका अध्यक्ष लवदेव अवस्थीले अस्तित्वमा रहेका सबै भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै ज्ञान आर्जनको माध्यम पनि भाषा भएकाले यसको सर्वस्वीकार्यताका लागि कार्य भइरहेको जानकारी गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्