काठमाडौं,१४ साउन । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले आर्थीक विनियोजनको काम सम्पन्न गरेको छ । नरहरिनाथ गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । २६ करोड १८ लाख ९८ हजार कुल वजेट प्राप्त गरेको उक्त गाउँपालिकाले सडक बाटो शिर्षकमा सबै भन्दा बढि ६ करोड रकम छुट्याएको छ ।
त्यसैगरी प्रत्येक वडाको लागि ५० लाखका दरले रकम बाढेको गाउँपालिका अध्यक्ष धीर बहादुर बिष्टले जानकारी दिए। रिपोर्टर्सनेपालसँगको कुराकानीमा अध्यक्ष बिष्टले सडक बाटोले नछोएको र आगामी दुईबर्ष भित्र सबै वडामा सडक बिस्तारको काम सम्पन्न गर्ने लक्ष्य सहित दुर्त गतीमा काम गर्नको लागि सम्बद्ध निकायलाई निर्देशन दिएको बताए।
उनले भने,‘कर्णाली करीडोरको काम दुर्त गतीमा अघि बढदैछ, उक्त करीडोर हाम्रो गाउँपालिका जोडेर जाने हुनाले हाल अलपत्र रहेको लालुखुलालु स्थीत कर्णाली नदिमा बन्ने पक्की पुलको काम यो वर्षात सकिए लगत्तै सुरु हुनेछ, त्यसको लागि केन्द्रमा पुगेर पनि छलफल गरिसकेको छु।’
अध्यक्ष बिष्टले अघि थपे,‘यो गाउँपालिकाको बीचमा ठुलो खोला छ जस्ले वारी र पारी छुट्याएको छ, हामीले बाटो बिस्तारको लागि बराबर रकम बाढेका छौँ, सरकारले स्थानीय तहमा पठाएको रकम फ्रिज हुन्छ की भन्ने शंका गरिरहेको छ, हामीले विकासका काममा तदारुकता देखाउनु पर्छ र समयमै स्तरीय विकास सम्पन्न गर्नुपर्छ भन्नेमा लागेका छौ।’