Logo

प्रधानमन्त्री देउवा काठमाडौं लाइफ लाइनको अवलोकनमा



काठमाडौं १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । बिहान ९ बजे अवलोकनका लागि त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् । प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए । यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् ।

महिना दिनदेखि दैनिक ११ घन्टा सडक बन्द
मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ । यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ । सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ । संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा मुग्लिन–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठका अनुसार रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने कार्य भदौ पहिलो सातासम्म लम्बिन सक्नेछ । यसअघि २४ असारसम्म निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गर्ने गरिएको थियो । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न सुरु गरिएको हो । १५ चैतअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot