Logo

राप्रपाको विवाद अझै मिलेन



काठमाडौं १९ साउन । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै वरिष्ठ नेता पशुपति शमशेर राणा पक्षले असन्तुष्टि जनाउँदै आएको छ । राणाले त्यसपछिका पदाधिकारी, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको बैठकसमेत बहिष्कार गर्दै आएका छन् ।

संस्थापन पक्ष भने राणा पक्षका केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सकिने, तर मनोनित गर्ने निर्णय फिर्ता लिन नसक्ने बताउँदै आएको छ । दुई पक्षबीच त्यही विषयमा सहमति जुट्न नसकेपछि शुक्रबार बसेको पदाधिकारी बैठकले नेता राणासँग सहमति गरी विवाद मिलाउन अर्का नेता लोकेन्द्रबहादुर चन्दलाई जिम्मेवारी दिएको थियो । चन्दले विवादको समाधान खोज्न राणासँग कुराकानी गरे पनि औपचारिक रूपमा सोमबारसम्म कुनै छलफल नभएको स्रोतले बतायो ।

राणाले पार्टीको निर्देशन समिति निर्माण गर्ने र त्यही निर्देशन समितिमा छलफल गरी निस्केको निष्कर्षअनुरूप अन्य निर्णय गर्नुपर्ने बताउँदै आएका छन् । निर्देशन समितिमा हुने सहमतिअनुरूप केन्द्रीयस्तरका विभाग र केन्द्रीय कार्य समितिलाई पूर्णता दिनुपर्ने माग राणाको छ । संस्थापन पक्ष निर्देशन समिति बनाउन तयार भएर नाम मागे पनि राणाले भने पहिला कति सदस्यीय बनाउने र संस्थापन पक्षबाट कुन–कुन नेतालाई राख्ने बारेमा प्रष्ट हुनुपर्ने बताउँदै आएका छन् ।

संस्थापन पक्षका नेता दिलनाथ गिरीले विवाद समाधानका लागि वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई पदाधिकारी बैठकले जिम्मेवारी दिएको र पार्टीभित्र देखिएको समस्या समाधान उन्मुख रहेको बताए । तर, राणा भने अहिलेसम्म संस्थापन पक्ष समस्या समाधानका लागि गम्भीर नभएको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot