Logo

बुटवलमा बस्दा प्रेम कुस्मामा पुग्दा विवाह



झट्ट हेर्दा गहु“गोरो, सामान्य पहिरनको अधबैंसे ठिटोजस्तो देखिन्छ उहा“लाई । मिजासिलो स्वभावले सम्बोधन गर्ने र सबैको भनाइ धैर्यतापूर्वक सुन्ने यी पात्रलाई कार्यकक्षभन्दा बाहिर भेट्दा नजिकबाट नचिन्नेहरु समय बिताउन हिँडेको गन्तव्यहीन यात्री ठान्छन् । तर, यो अनुमान पूरापूर गलत हुन्छ । उहाँका लागि सेकेन्ड-सेकेन्ड समयको महत्व छ । उहाँसँग भेटघाट तथा जमघट गर्ने व्यक्ति साधारणदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका समेत हुन्छन् । र त नेपाली हुनुको गर्व, समाज–राष्ट्रप्रतिको जिम्मेवारी, पदीय उत्तरदायित्व साबित गर्नुभएको छ उहाँले ।

यसैको परिणाम त उहाँ आफ्नो निःस्वार्थ गन्तव्यतर्फको पाइलालाई अझै अघि बढाउँदै शिखरतर्फ लम्कँदै हुनुहुन्छ । लगनशील, कर्मठ, परिश्रमी, जोसजाँगर एवं इच्छाशक्तिका धनी, उमेरको अनुपातमा आफ्नो पेशागत क्षेत्रमा खारिनुभएका हाल महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीको यथार्थ हो यो ।

ईश्वरको जन्म विक्रम सम्वत् २०२८ साउन १४ गते पूर्वी पहाडी जिल्ला भोजपुरको भोजपुर गाउँ पञ्चायत वडा नं. ७ (हाल भोजपुर नगरपालिका–८) मा नरबहादुर कार्की र विष्णुमायाका ३ छोरा तथा १ छोरीमध्ये तेस्रो सन्तानको रूपमा भएको हो । उहाँका दाइहरु भीम र राजकुमार अनि बहिनी बबिता हुनुभए पनि भीमलाई भने अल्पायुमा नै दैवले चुँडेर लग्यो । उसो त गाउँको मध्यमवर्गीय परिवारमा जन्मनुभएका ईश्वरको बाल्यकाल साथीसंगीको तुलनामा अलि पृथक् र सोखिन ढंगले बित्यो ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि तीक्ष्ण बुद्धि, चनाखो स्वभाव र पढाइमा अब्बल ईश्वरलाई त्यस्तै ५-६ वर्षको उमेरमा घरबाट पैदल १० मिनेटको दूरीमा पर्ने श्री सरस्वती निम्न माध्यमिक विद्यालयमा भर्ना गरियो । ‘बिहान उठ्यो, नित्यकर्म सकी नजिकै रहेको धाराबाट चोखो पानी ल्याएर पूजापाठ गर्ने अनि त्यसपछि पढ्न बस्ने बानी थियो’

उहाँ आफ्नो विगत स्मरण गर्नुहुन्छ– ‘घरको काम भने मैले केही पनि गर्नुपरेन ।’ त्यतिबेलाको समय न हो, दिउसो १ बजे ‘हाफ टाइम’ भए पनि खाजा खाने प्रचलन थिएन, बिहानको खाना खाएर विद्यालय गएपछि उहाँहरु एकैपटक अपराह्न ४ बजेतिर घर फर्कनुहुन्थ्यो । त्यहाँ उहाँले कक्षा ७ सम्म अध्ययन गर्नुभयो । अझ रमाइलो पक्ष त के भने ईश्वरले अध्ययन गरिरहनुभएको सरस्वती निमावि र घरबाट अलि टाढा रहेको श्री विद्योदय माविको कक्षा ७ को एउटा परीक्षा केही समय अगाडि–पछाडि परेको रहेछ । ईश्वर सरस्वतीमा परीक्षा दिएर बिदामा बसिरहनुभएको बेला विद्योदयमा अध्ययनरत दाइ राजकुमारले ‘मेरो भाइ कत्तिको क्षमतावान् रहेछ हेरौं’ भनेर उता पनि परीक्षा दिन लगाउनुभएछ ।

‘परीक्षाफल निस्कँदा त म दुवैतिर कक्षा प्रथम भएँ’ ईश्वर गर्व गर्नुहुन्छ– ‘अनि मलाई कता पढाउने भनेर सरस्वतीका प्रअ गुरुप्रसाद कोइराला र विद्योदयका प्रअ कृष्ण महतबीच तानातान भयो, अन्ततः सरस्वतीमा कक्षा ७ भन्दा माथि पढाइ नहुने भएकाले केही समयको अन्तरमा विद्योदयमा नै गएँ ।’

यसैको सिलसिलेवार उहाँले जिल्ला ‘टप’ भएर वि.सं.२०४५ मा एसएलसी पास गर्नुभयो । हुन पनि विद्यालयमा अध्ययन गर्दा होस् या कलेज ईश्वर कहिल्यै दोस्रो हुनुपरेन । र त शिक्षा र खेलकुल क्षेत्रमा उहाँले गाउँ, स्कुल, क्षेत्र, जिल्ला तथा राष्ट्रियस्तरको दर्जनौं पुरस्कार हात पार्नुभएको छ ।अब भने ईश्वरको जीवनमा अर्को अध्यायको कालखण्ड सुरु भयो । उहाँ उच्च शिक्षा अध्ययनका लागि भोजपुर बहुमुखी क्याम्पस भर्ना हुनुभयो व्यवस्थापन विषय लिएर । र, वि.सं.२०४९-५० मा त्यहाँबाटै स्नातक पूरा गर्नुभयो । यो अवस्थासम्म आइपुग्दासमेत सर्वोत्कृष्ट अंक प्राप्त गरेकाले नै उहाँले छात्रवृत्तिमा अध्ययन गर्नुभएको हो ।

अझै थप शिक्षा हासिलका लागि अब उहाँ राजधानी आउनुपर्ने भयो अनि गृह जिल्ला भोजपुरबाट पहिलोपटक काठमाडौं छिर्नुभयो । त्यसबखत नाताले काका पर्ने धनबहादुर कार्की बाजबजार बस्नुहुन्थ्यो । ईश्वर पनि उहाँसँगै रहेर मीनभवन क्याम्पस भर्ना हुनुभयो । यद्यपि बागबजारबाट नजिक पर्ने भएकाले अध्ययन गर्नचाहिँ खसीबजारस्थित शंकरदेव क्याम्पसमा जानुहुन्थ्यो ।

तर, दुर्भाग्य तत्कालीन परिस्थितिमा विभिन्नखाले राजनीतिक बाधा आइपरेकाले उहाँले एमबीमा फाइनान्स विषयको परीक्षा दिन पाउनुभएन । यस अर्थमा केही पछिमात्रै स्नाकोत्तर तह पार गर्नुभयो । प्रसंग वि.सं.२०५२-५३ तिरको हो– नेपाल प्रहरीमा निरीक्षक (इन्स्पेक्टर) पदको माग भयो । तथापि ईश्वरले आफू त्यो क्षेत्रमा जाने कल्पनासमेत गर्नुभएको थिएन । फेरि उहाँको विधा, रुचि, अनुभव र लगन पनि सुरक्षानिकायप्रति पटक्कै थिएन । उहाँको पहिलेदेखिकै चाहना भनेको निजामती कर्मचारीमार्फत मुख्यसचिव बन्ने हो । सोहीअनुरूप लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्थ्यो ।

तर, के लाग्छ ? समय र भाग्यको खेल न हो उहाँले सोचेजस्तो भएन । कारण के थियो त ? ईश्वर स्पष्ट पार्नुहुन्छ– ‘त्यतिबेला उत्तर खत्री नामक मेरो एकजना साथी हुनुहुन्थ्यो । उहाँको चाहना भनेको प्रहरीमा रहेर सेवा गर्ने थियो । आफूलाई साथी हुन्छ भनेर उहाँले नै प्रहरीमा मेरो पनि फर्म भर्नुभएछ । अनि सँगै जाँच दियौं ।’ अर्को घिनलाग्दो राजनीतिक खेल के भयो भने त्यति नै बेला कहिले जम्बो मन्त्रिमण्डल बन्यो त कहिले सरकार परिवर्तन गरियो । त्यसैले लामो समयपछि मात्रै परीक्षाफल आयो ।

बिडम्बनाको पक्ष ईश्वरको नाम निस्कियो, खत्रीको निस्किएन । लोकसेवाले प्रहरी छनोट गर्न मिल्दैन भनेर त्यसविरुद्ध सर्वोच्च अदालतमा उजुरी पनि पर्यो । दुर्भाग्यभित्रको सौभाग्य भनौ लोकसेवाको कदमलाई सर्वोच्चले सदर ग¥यो, ३० जना प्रहरी निरीक्षक मागिएकोमा २९ जना पास भए । यस मानेमा पनि प्रहरीमा भएको छनोटमध्येको यो अहिलेसम्मकै सबैभन्दा पारदर्शी हो । अनि पो ईश्वरलाई पनि प्रहरीको जागिरप्रति रस बस्यो ।

त्यसो त वि.सं.२०५४ चैत १८ गतेबाट प्रहरी निरीक्षक पदमा कार्यभार सम्हानुभएका ईश्वर आफ्नो दरबन्दी दिपायल गुल्म भए पनि करिब डेढ वर्षको तालिमपछि ‘क’ वर्गको द्वन्द्वग्रस्त क्षेत्रमा पुग्नुभयो । त्यहाँ ६ महिना रहेर इलाका प्रहरी कार्यालय बुटवल आउनुभयो । त्यसको १ वर्षपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा जानुभयो । अनि ३ महिना जिप्रका मोरङ राखेर उहाँलाई यूएन मिसनअन्तर्गत पूर्वी टिमरमा १ वर्ष खटाइयो ।

वि.सं.२०६० मा भने जिप्रका पर्वत पठाइयो करिब डेढ वर्षजति । त्यही अन्तरालमा तत्कालीन नायब महानिरीक्षक (डीआईजी) शेरबहादुर साहको चाहनामा ३ महिना काजमा पोखरा ल्याइयो । ईश्वर दावी गर्नुहुन्छ– ‘ट्रान्स्परेन्सी इन्टरनेशनलले पोखराको जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला विकास समितिबीच पारदर्शिताको विषयमा मापदण्ड पूरा गरे-नगरेको प्रतिष्पर्धा गराएको थियो, मेरो सक्रियताले गर्दा जिप्रका प्रथम भयो ।

अहिलेको सहायता कक्ष, भवन वर्गीकरण, कर्मचारीको सूची सार्वजनिक आदि त्यतिबेलाको हाम्रै अवधारणा हो ।’ त्यसपछि उहाँ अपराध अनुसन्धान तालिमका लागि ४५ दिन प्रहरी प्रधान कार्यालय आउनुभयो । यसैगरी डेढ वर्षजति जिप्रका पर्सा बस्नुभयो । त्यसलगत्तै प्रप्रकाको सुरक्षा निर्देशनालयमा र मानव स्रोत विकास विभागमा रहनुभयो । वि.सं.२०६४ मा उहाँ पुनः १४ महिनाका लागि हाइटी मिसन जानुभयो ।

प्रप्रका फर्किएर यस्तै कार्यका बीच वि.सं.२०६६ पुस २६ गते ईश्वर नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुनुभयो । अनि दिपायल तालिम केन्द्र पुग्नुभयो । त्यसको डेढ वर्षपछि जिप्रका जाजरकोट खटिनुभयो । त्यहाँ उहाँले १४ महिना बिताउनुभयो । फेरि प्रप्रका आएको ४ महिनामा नै जिप्रका प्युठान पठाइयो । वि.सं.२०७० मंसिरमा सम्पन्न संविधानसभाको पछिल्लो निर्वाचनपछि भने १ वर्षका लागि यूएन मिसन डार्फर जानुभयो ।

त्यहाँबाट फर्किएको ३ महिनामा इप्रका दमक पुग्नुभयो–झन्डै १ वर्षका लागि । अब भने फेरि उहाँलाई प्रप्रका ल्याइयो र २ महिनाको अन्तरमा काजमा महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुर खटाइयो । ईश्वर ललितपुर यस्तो परिस्थितिमा आइपुग्नुभयो कि त्यहाँ अनुसन्धानमा दख्खल भएका उच्च प्रहरी अधिकृत नै थिएनन । र पनि उहाँले हरेस खानुभएन बरु, आफ्नो क्षमता प्रर्दशन गर्नुभयो । अन्ततः त्यहाँ नै उहाँको दरबन्दी रह्यो ।

त्यही समयमा घरेलु हत्या–हिंसादेखि चोरी, डकती, गुण्डागर्दी र राजनीतिक आवरणमा भएका ठूल्ठूला अपराधकोसमेत गहिराइमा पुगी अनुसन्धानमात्रै गर्नुभएन, निष्पक्ष ढंगले किनारा पनि लगाउनुभयो । यस अर्थमा त उहाँको चर्चा थप चुलियो । वि.सं.२०७४ साउन २० गतेबाट उपरीक्षक (एसपी) मा बढुवा हुनुभएका ईश्वरले हाल ललितपुरमा कार्यकुशलतापूर्वक आफ्नो जिम्मेवारी–भूमिका निर्वाह गरिरहनुभएको छ भने छिट्टै हुन लागेको पदस्थापनाको पनि प्रतीक्षामा हुनुहुन्छ ।
ईश्वरको लगनगाँठो भने रुपन्देही मंगलपुरकी अञ्जु क्षेत्रीसँग वि.सं.२०६० वैशाख ११ गते कस्सिएको हो ।

‘जागिरकै क्रममा मंगलपुरमा देखभेट र चिनजान भयो, पछि घरपरिवारसँग पनि हिमचिम बढ्यो’ विगतको त्यो क्षण सम्झँदै उहाँ मुस्कुराउनुहुन्छ– ‘प्रेम बुटवलमा र त्यसको ३ वर्षपछि कुस्मामा रहँदा विवाह भयो । त्यसैले यसलाई प्रेम र मागी दुवै विवाह भन्दा हुन्छ ।’ मञ्जु कुशल गृहिणी हुनुहुन्छ । र त उहाँहरुको दाम्पत्य जीवन अत्यन्त सौहार्दपूर्ण ढंगले चलिरहेको छ । हाल ईश्वर÷अञ्जुका २ छोरा हुनुहुन्छ– १२ वर्षीय अर्नभ र ४ वर्षीय आरभ । उहाँहरु ७ तथा यूकेजी तहमा अध्ययनरत हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्