Logo

हामी राहत संकलनमा जुटेका छौँ, तपाई पनि जुट्नुसः अध्यक्ष पंगेनी



काठमाडौ, ३० साउन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले राहमा जुट्नको लागि आग्रह गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा बसेको केन्द्रिय समितिको आकस्मिक बैठकले यस्तो आग्रह गरेको हो ।

रिपोर्टर्सनेपालसँगको कुराकानीमा प्रतिष्ठानका अध्यक्ष बर्दी पंगेनीले भने,‘आज हामीले प्रतिष्ठानका साथीहरुबाट १ लाख रुपैयाँ उठाएका छौँ, त्यति नै मूल्य बराबरको जिन्सि सामान जम्मा गरेका छौँ हामी भोलि नै बाढि पीडित क्षेत्रमा जादैछौँ।’

अध्यक्ष पंगेनीले भने,‘प्रशासनको अनुमति नलिईकन कुनै सामान उठाउन नपाईने हुनाले प्रशासनसँग अनुमति मागेको छु, हामी अहिलेपनि राहत उठाउने काममा जुटिरहेका छौ, यस्तो स्थितिमा सबै नेपालीहरुले साथ सहयोगमा जुट्नको लागि आग्रह गर्दछु, मर्दा र पर्दा लगाएको गुन सबै भन्दा महंगो हुन्छ भन्छन, त्यसैले पनि तराईमा डुवेका जनतालाई ओभानो स्थानमा ल्याउनु आजको आवश्यकता हो, यस कार्यमा सबैले साथ दिनुपर्छ, सरकारले सबै भन्दा बढि भूमिका खेल्नुपर्छ, उद्धारमा खटिएका सुरक्षा कर्मीको संख्या बढाउनु पर्छ यसो भयो भने पीडितले चाँडो राहत पाउछन।’

प्रतिष्ठानका अध्यक्ष पंगेनीले अघि थपे,‘बाढि प्रभावित क्षेत्रमा विभिन्न रोग देखिन सुरु भएको छ, यस्तो स्थितिमा सरकार गम्भिर नहुने हो भने, वितण्डा बाढिबाट बचेका मानिस रोगले मर्न सक्छन्, सरकारले स्वास्थ्य सुविधा औषधी उपचारको लागि वातावरण बनाउनु पर्छ, स्वास्थ्य संयन्त्र प्रभावित क्षेत्रमा पठाओस्।’

केन्द्रिय समितिको आकस्मिक बैठकको निर्णयमा भनिएको छ,‘देशको तराईक्षेत्रमा आईपरेको बिपत्तिमा आर्थिक भौतिक र नैतिक सहयोगमा जुट्नको लागि प्रतिष्ठान मातहतका प्रदेश अञ्चल समन्वय जिल्ला सम्पुर्णमा हार्दिक अनुरोध गर्दै ,केन्द्रिय समितिको तर्फबाट ब्यक्तिगत रुपमा सहयोग संकलन गरि तत्काल नगद रु १ लाख र जिन्सी तथा खाध सामाग्री सहित प्रभावित क्षेत्रमा पुगि भोलि नै वितरण गर्ने निर्णय गरियो ।’

प्रतिष्ठानको वैठकले यस प्रतिष्ठान मार्फत सहयोगगर्न ईच्छा राख्नु हुने देश बिदेशमा रहेका सम्पुर्ण कलाकार शुभचिन्तक महानुभावहरुमा सम्पर्कको लागि अनुरोध समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्