थकाली संस्कृति संरक्षण अक्षयकोष स्थापना

0
Shares

बाबियाचौर म्याग्दी,  १८ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृति संरक्षण संवद्र्धनका लागि रु ३० लाखको अक्षयकोष स्थापना भएको छ ।

थकाली सेवा समितिले रु ३० लाखको संस्कृति संरक्षण संवद्र्धन अक्षयकोष स्थापना गरेको हो । विसं २०७३ पुस १५ देखि ३० गतेसम्म मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा सञ्चालित बाह्र वर्षे ल्हफेव पर्वका अवसरमा संकलित रकमबाट रु ३० लाखको अक्षयकोष स्थापना गरेको समितिका महासचिव नरेशकुमार तुलाचनले जानकारी दिनुभयो ।

समितिले थकाली संग्रहालय स्थापना, भाषा संरक्षण कक्षा सञ्चालन, परम्परागत चाडपर्वको संरक्षण, थकाली खानाका परिकारको प्रवद्र्धन गर्ने कार्ययोजना बनाएको छ ।

यसैगरी प्रत्येक वर्षको भदौ महिनामा मनाइने कुमार जात्रा फालो पर्वलाई निरन्तरता दिनका लागि यसअघि स्थापित रु १७ लाख पाँच हजारको अक्षयकोषलाई वृद्धि गरी रु २५ लाख पु¥याइएको छ ।

थकाली सेवा समिति युकेका कल्पना गौचनको संक्रियतामा संकलित रु छ लाख ५५ हजार र समितिको रु एक लाख ४० हजार कोषमा थप गरिएको अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो ।

भट्टचन, गौचन, शेरचन र तुलाचन थरका थकालीका पुजारीलाई दक्षिणाको व्यवस्था गरिएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भदौ महिनाको शुक्ल पक्ष अनुराधा नक्षेत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्षमुनिका छेवार गरिसकेका कुमारलाई कुमार यात्रामा सहभागी गराएर फालो पर्व मनाइएको हो ।

चार चनमा जन्मिएका छोराहरु कुमारयात्रा स्योपेनमा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउने थाकका संरक्षक हेमन्त गौचनले बताउनुभयो ।