Logo

समाजसेवी गुरुङको उद्धघोष : ‘कालिकोटका एक जना विद्यार्थीलाई एमबिबिएस पढ्नको लागि सहयोग गर्छु’



काठमाडौं, १ असोज । प्रतिष्ठित समाजसेवी एवम् भाटभटेनीका मालिक मिनबहादुर गुरुङले कालिकोटका एकजना विद्यार्थीलाई एमबिबिएस अध्ययन पुरा गर्न लाग्ने सम्पूर्ण खर्च प्रदान गर्ने घोषणा गरेका छन् ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा कालिकोटमा बसेर अध्ययन गरेको र आर्थिक विपन्ताका कारण अध्ययन गर्न असक्षम तर सपना बोकेका १ जना विद्यार्थीलाई एमबिबिएस अध्ययन पुरा गर्न लाग्ने अनुमानित ५० लाख रुपैयाँ गुरुङले प्रदान गर्ने भएका हुन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका समाजसेवी गुरुङले ‘विकट जिल्ला कालिकोटको एकजना विद्यार्थीलाई सहयोग गर्दा कालिकोट र सिँगो कर्णालीको भलाई हुन्छ भने मैले सहयोग किन नगर्ने’ भन्ने भावनाले यो आर्थिक सहयोग गरेको विश्वास दिलाए ।

सुन्दर कालिकोट, सम्मृद्ध कालिकोटका अभियन्ता समेत रहेका शाहीले दुर्गमका जनताको सेवा गर्नको लागि दुर्गमले नै चिकित्सक जन्माउनुपर्ने बताए ।

उनले भने,‘यो महत्वपूर्ण कार्यमा मिनबहादुर गुरुङले साथ दिनु भयो, म लगायत उहाँलाई समग्र कालिकोट बासिको तर्फबाट धन्यबाद दिन्छु, क्षमतावान विद्यार्थी भएर पनि आर्थिक कमिका कारण राम्रो शिक्षा लिनबाट बञ्चित भैरहेको अवस्थामा उहाँले यति ठुलो सहयोग गर्ने आट गर्नु भयो, बाँकी दिनमा पनि यस्ता समाजसेवीहरुको जन्म हुनुपर्छ।’

शाहीले भने,‘उक्त छात्रवृत्तिबाट जेहेन्दार तथा बिपन्न विद्यार्थीले डाक्टर पढ्ने सुवर्ण मौका प्राप्त गर्नेछन भने, चिकित्सकको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताबाट कालिकोटका नागरिकहरुलाई केही मात्रामा भएपनि राहत पुग्ने मैले आशा र बिश्वास लिएको छु।’

यस भन्दा पहिले महासचिव शाहीले कालिकोटमै बसेर सरकारी विद्यालयमा पढेर उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका निम्ति १ लाख रुपैयाँको अक्षय कोष खडा गरि सकेका छन् ।

उक्त कार्यक्रममा कालिकोटका सरकारी विद्यालयमा पढेर उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो।२०७३ सालमा एसइइ परीक्षा दिएर कालिकोट जिल्ला प्रथम हुन सफल भएकी सम्मृद्धि बोहरालाई १० हजारसहित सम्मान गरिएको थियो भने अन्य उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थीहरुलाई भने जनही ५ हजारका दरले सम्मान गरिएको थियो ।

महासचिव शाहीले सुरुवात गरेको उक्त सामाजिक कामलाई साथ दिदै अष्ट्रेलियामा बस्दै आएका शिक्षा व्यवसायी एवं समाजसेवी राम श्रेष्ठले अक्षय कोषका निम्ति १० लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्