डा. दीपेश केसी : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुश्मन भनिएका शक्तिसँग रणनीतिक मेलमिलाप गरेपछि पार्टीभित्र प्रष्टिकरण दिदै भन्नेगर्थे—दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति ! माओवादी ‘जनयुद्ध’ होस् या शान्ति प्रक्रियामा आएपछि नै किन नहोस् उनले ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति कार्यान्वयन गरिरहे । फलाम काट्न फलामकै प्रयोग गर्ने शैली अपनाए । अर्को शक्तिलाई कमजोर पार्न उसको समानकै अर्को शक्तिलाई प्रयोग गरिरहे ।
इतिहास साक्षी छ माओवादी ‘जनयुद्ध’ मा पहिलो निशाना नेपाली काँग्रेसका कार्यकर्ता बनेका थिए । शोसक सामन्तीको आरोप लगाउँदै धेरै काँग्रेस कार्यकर्ता माओवादीद्वारा मारिए र गाउँबाट खेदिए । काँग्रेस कमजोर बनाउने रणनीति अनुसार माओवादीले दरबार र अर्को कम्युनिष्ट शक्ति एमालेलाई प्रयोग गरेको थियो । प्रतिद्वन्द्वी मारिएको खुशियाली मनाइरहे राजावादी र एमालेले । तर, त्यही माओवादीको तारोमा एमाले पर्न थाले र पछि राजावादी ।
बुढी मरी भन्दा काल पल्कन थाल्यो । कतिपय गाउँमा सशस्त्र माओवादी एक्लो शक्ति बन्यो । माओवादीले यही शैलीमा ‘जनयुद्ध’ लाई अविश्सनीय तरिकाले उचाईमा पु¥यायो । विदेशी भूमिको समेत प्रयोग ग¥यो । हतियारको बलमा बलियो शक्ति हुँदै मूलधारको राजनीतिमा स्थान बनाउन सक्यो । प्रचण्डले प्रयोगको राजनीति गरिरहे ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले ठूलो कसरत गर्नुपरेको थियो । प्रचण्ड काँग्रेसले चालेको जोखिमयुक्त कदम अनुसार शान्ति प्रक्रियामा नआएको भए राजासँग भित्री सहमति बनाउन बढिसकेका थिए । यसको पुष्टि माओवादी नेताहरूले पुस्तक र लेखमार्फत् खुलाइसकेका छन् । प्रचण्ड स्वयंले दरबारसँग कार्यगत एकताको प्रसंगलाई पुष्टि गरेका छन् ।
लोकतान्त्रिक शक्तिलाई एक्ल्याउने खेल बुझेर गिरिजाप्रसाद कोइरालाले ऐतिहासिक कदम चाले । माओवादीको हतियार व्यवस्थापनको आधार तयार गरे । चुनावमा काँग्रेस हारेर भएपनि माओवादीलाई शान्ति प्रक्रियाबाट भाग्न नसक्ने अवस्था बनाए । चतुर गिरिजाप्रसाद कोइरालाले आफ्नो बुई चढेको माओवादीलाई साइजमा ल्याउन सफल भए । पहिलो संविधानसभामा पहिलो दल बनेको दम्भ प्रचण्डमा थियो । उनले नेपाली सेनामा खेल्न खोजे । तत्कालीन सेनापति रुक्माङ्गगत कटवाललाई हटाएर कुलबहादुर खड्कालाई सेनापति बनाउने निर्णय गरेपनि सफल भएनन् । सेनापति प्रकरणका रूपमा चर्चित उक्त घटनापछि प्रचण्ड आफै सत्ताबाट हट्न वाध्य भए ।
सत्ताको अनुभव नभएका प्रचण्डले सत्तारोहणको केही महिनालगत्तै माओवादी सरकार ढाल्ने खेल भइरहेको बताउने गर्थे । उनको सिधा आरोप गिरिजाप्रसाद कोइरालामाथि हुन्थ्यो । कोइरालाले सार्वजनिक रूपमा जवाफ दिएका थिए—आँप पाकेपछि झार्नुपर्दैन आफै झर्छ । प्रचण्ड पाकेको आँप जसरी झरे सत्ताबाट झरे ।
त्यसपछि उनी राजनीतिमा आरालो लाग्न थाले । कतिपयले प्रचण्डको राजनीतिक भविष्य सकिएको विश्लेषण गर्थे । सत्ताबाहिर रहँदाको पीडा र धक्काले प्रचण्ड थलिदै गए । दोस्रो संविधानसभाको चुनावमा माओवादी तेस्रो स्थानमा पुग्नु अगावै पटक पटक विभाजनको पीडा भोग्न पुग्यो । त्यसपछि पनि माओवादीले विभाजनको सामना गरिरह्यो ।
माओवादी कमजोर बन्दै जाँदा प्रचण्डले पुनः ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति अपनाउन थाले । संविधानसभाको दोस्रो चुनाव लगत्तै राष्ट्रपतिमा एमालेलाई समर्थन गरेर उपराष्ट्रपति र सभामुख माओवादीका लागि सुनिश्चित गरे । तेस्रो शक्ति भएर पनि नेपाली राजनीतिका मुख्य खेलाडी सावित भए ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा सत्ताबाहिर रहेपनि सत्ताधारीको जसरी शक्तिको अभ्यास गरे । शान्ति प्रक्रियाको अर्को शक्ति मात्र नभई गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने बाँकी कार्यभार सुम्पेर गएको दाबी गरेर अगाडि सरे । सुशीलले प्रचण्डको धेरै आग्रहलाई नकारेनन् ।
संविधान निर्माणपछि प्रचण्डले काँग्रेस र एमालेको सत्तागठबन्धन टुटाउन सके । सुशील कोइरालाको पुनः प्रधानमन्त्री बन्ने चाहनामा खेल्ने ठाउँ पाए प्रचण्डले । केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेर सत्ताको साँचो हातमा लिनसके । तेस्रो शक्ति भएकै आधारमा बहुमत पु¥याउने र प्रधानमन्त्री बन्ने दौडमा पहिलो र दोस्रो शक्ति लाग्दा प्रचण्डलाई लाभ पुग्यो ।
उनी काँग्रेस समर्थनमा प्रधानमन्त्री बन्न सके । यो घटनापछि प्रचण्डले काँग्रेस र एमालेको दूरी झन् बढाउन सके । आफू प्रधानमन्त्री भएकै बखत आइजीपी प्रकरण र प्रधानन्यायाधीशलाई महाभियोग लगाउने सम्मको घटनाक्रममा सहभागी भए । तर, दोषको भारी काँग्रेस सभापति शेरबहादुर देउवाको थाप्लोमा बोकाउन सफल भए । दुवै प्रकरणमा प्रचण्डले साँप पनि मर्ने लठ्ठी पनि नभाँचिने रणनीति अपनाएका थिए । काँग्रेस सभापतिमाथि दबाब बढाएर आफ्नो हितमा निर्णय गराउन सफल भए ।
प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरे तर शर्त नै शर्त तेर्साएर । देउवालाई समर्थन गरिरहँदा काँग्रेसको बुई चढेर छोरी रेणु दाहाललाई काँग्रेसको गढ मानिएको भरतपुर महानगरपालिकामा मेयर जिताउन सके । दाहालको पक्षमा चुनावी माहोल सृजना गर्न काँग्रेस सभापति देउवा चुनावी सभामा पुगेको देखि मतपत्र च्यातिएको प्रकरण चुनावी इतिहासमा कालो धब्बा बनेको छ । पिउसोको शैलीमा काँग्रेस कार्यकर्ता रेणुको पक्षमा अन्तिम समयसम्म खटिएका थिए ।
सिद्धान्त र आदर्श बिर्सेर राजनीतिमा जे पनि गर्दा हुन्छ भन्ने शैलीमा चल्ने नेतृत्वको गलत आदेशको पालनाकर्तामा सिमित भए । गलतलाई गलत भन्न नसक्ने काँग्रेसको शक्तिशाली तहमा रहेको माथिल्लो देखि मध्यमस्तरको पुस्ताबाट केही आशा नगरे हुन्छ । हतारमा चल्ने फुर्सदमा पछुताउँदै सामाजिक सञ्जालमा आक्रोशयुक्त टिप्पणी गर्ने सिवाय केही गरिहाल्नसक्ने छाँट पनि देखिदैन । माओवादीले कतिपय काँग्रेस नेता कार्यकर्तालाई निचोरेको कागती बनाएर छाडिदियो ।
प्रयोगको रणनीतिलाई प्रचण्डले भरपूर सदुपयोग गर्न सके । माओवादी निकै कमजोर मानिएको मधेशको आठ जिल्ला रहेको दुई नम्बर प्रदेशमा नतिजा आफ्नो पक्षमा पारे । यो सफलताका लागि पनि काँग्रेसको ढाड टेकेका थिए प्रचण्डले । स्थानीय चुनावको सबै नतिजा आउँदै गर्दा माओवादीले भत्केको आधार क्षेत्रमा काँग्रेसको साथ र सहयोगबाट भारी मत ल्याए । एमालेलाई साइजमा ल्याउन काँग्रेसले चालेको कदम माओवादीका लागि फाइदाजनक भयो ।
जनमोर्चाको हालतमा खुम्चिइसकेको माओवादीलाई प्रदेश नम्बर दुईको नतिजापछि एमाले नेतृत्वले ६० र ४० को प्रस्ताव राखिदियो । दशैंभरी पाकेको खिचडी तयार भयो । वामपन्थी एकता भन्दै एमाले र माओवादीबीच चुनावी तालमेल र कार्यगत एकताको सहमति बन्यो । यो प्रचण्डको कम्युनिष्टको एक्लो नेता बन्ने महत्वाकांक्षा अन्र्तगतको रणनीति हो । कम्युनिष्ट बहुमतबाट आफू अनुकूलको शासन गर्ने महत्वाकांक्षा समेत जोडिएर आएको देखिन्छ ।
प्रचण्डको कम्युनिष्ट एकताको रणनीति रूसी कम्युनिष्ट पार्टी एक भएको घटनालाई सम्झनुपर्नेहुन्छ । रूसमा कम्युनिष्ट क्रान्तिका दौरान मनसेभिक र बोल्सेभिकहरू प्रभावशाली रहे । मेनसेभिक बहुमतमा थिए भने बोल्सेभिक अल्पमतमा । लेनिन नेतृत्वको बोल्सेभिकले विस्तारै मेल्सेभिकमाथि प्रभाव जमाएर कम्युनिष्ट पार्टीमा एकछत्र कब्जा जमाए । बीसौं शताब्दीको प्रारम्भमा रूसको सबैभन्दा बलियो शक्ति मेन्सेभिक स्थापनाको दुई दशक नबित्दै विलिन भयो । रूसमा लेनिन नेतृत्वको कम्युनिष्ट पार्टीको एकतन्त्र शुरू भयो । नेपालमा प्रचण्डले यही शैलीमा आफूभन्दा बलियो रहेको कम्युनिष्ट पार्टी एमालेसँग एकताको रणनीति चालेका छन् ।
प्रचण्डको उद्देश्य कम्युनिष्ट पार्टीको एकमात्र प्रभावशाली नेता बन्ने हो । कम्युनिष्टहरूको मतबाट बहुमत ल्याएर आफू अनुकूलको शासन व्यवस्था स्थापित गर्ने प्रचण्डको उद्देश्य देखिदै गएको छ । उनले यसअघि माओले चीनमा गरेको सांस्कृतिक क्रान्ति देखि लेलिने रूसमा एउटै कम्युनिष्ट पार्टी बनाउनका लागि चालेको कठोर कदमसम्मको प्रयोग गरिसके ।
एउटै कम्युनिष्ट पार्टी बनाएर त्यसको नेता बन्ने प्रचण्डको पछिल्लो प्रयोगमा सत्ता कब्जाको उद्देश्य निहित देखिन्छ । उनी चुनाव अगावै सत्तामा पुगेर चुनावपछि पार्टी र सत्तामा एकछत्र प्रभाव कायम गर्न चाहन्छन् । यो माहोल तयार गर्नका लागि उनले नेपाली काँग्रेसको शिर्ष नेतृत्वलाई प्रयोग गरे । आफ्नो रणनीतिमा निरन्तर सफल बनाउँदै लगेका प्रचण्डका लागि सत्ता र शक्ति केन्द्रित राजनीति सामान्य हो ।
तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने नेपाली काँग्रेसको नेतृत्वले सिद्धान्त र आदर्श बिर्सेर प्रचण्डलाई निरन्तर बुई चढाउनु ऐतिहासिक भुल थियो । यसको दुरगामी असर नेपालको राजनीतिमा पर्न सक्ने संकेत देखिइसकेको छ ।
प्रचण्डलाई बुई दिदा उनले ढाडमा टेकेर टाउकोमा प्रहार गरेका छन् । दोष प्रहारकर्तालाई भन्दा स्वभाव जान्दा जान्दै बुई दिनेको हो । नेपाली काँग्रेसको नेतृत्वले प्रचण्डलाई बुई चढाएर ऐतिहासिक भुल गरेकाले दोषको जिम्मेवारी लिएर सुध्रने मार्ग तयार गर्नुपर्छ ।