काठमाडौं, २७ कार्तिक । ‘विश्व एण्टिबायोटिक्स सचेतना सप्ताह’ आजेखि सुरु भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा स्वास्थ्य मन्त्राल, पशुपंक्षी विकास मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, कृषि विकास मन्त्रालयले संयूक्त पत्रकार सम्मेलन गर्दै आजदेखि सुरु गरिएको एण्टिबायोटिक्स सप्ताह मंसिर ३ गतेसम्म चल्ने जानकारी गराएको हो ।
पशुपंक्षी विकास मन्त्रालयका सह–सचिव डा.केशवप्रसाद प्रेमीले मानिसमा लाग्ने अधिकाशं रोगहरु पशुपंक्षीहरुबाट लाग्ने बताए । उनले भने,‘प्राय रोगहरु जनावरबाट सर्ने गर्छन्, कुखुरा, राँगा, बोका, खसि, त्यस्तै दुधबाट पनि रोगहरु लाग्ने गर्छन, प्रयोग गर्न नमिल्ने भन्ने खोजिएको होईन, उपभोग गरिने माछा, मासु, दुधले मानव शारिरमा कत्तिको असर पर्छ भन्ने कुरा अहम बन्छ, पुश बिरामी हुँदा खुवाईएको एण्टिबायोटिक्सले मानव शरिरमा नकारात्मक असर गर्छ।’
त्यस्तै औषधि व्यबस्थापन विभागका महानिर्देशक डा.नारायण ढकालले सन २०२० पछि बजारमा एण्टिबायोटिक्स औषधि नपाईने बताएका छन् ।
उनले भने,‘हाम्रो विभागबाट बजारमा एण्टिबायोटिक्स पठाउँने काम पूर्ण रुपमा बन्द गरिसकेको छ, बिरामी पर्दा सामान्य औषधी पसलमा पुग्ने र चेकअफ नगरेरै औषधि र एण्टिबायोटिक्स सेवन गर्नाले झनै समस्या सिर्जना गर्छ, एण्टिबायोटिक्स खुवाईएका कुखुरा, अण्डा, मासु जन्य कुराहरु सेवन गर्दा मानव जीवनमा ठुलो असर पर्छ, उपभोक्ता भन्दा पनि उतपादन कर्ताले अरुको जीवन पनि आफ्नो जस्तै प्रिय हुन्छ भनेर सोच्नुपर्छ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले स्वास्थ्यसँग जोडिएका कुराहरुको बारेमा जनस्तरसम्म सचेतना पुर्याउनुपर्नेमा जोड दिए ।
उनले भने,‘तल्लो तहको जनस्तरसम्म सचेतनाका कार्यक्रमहरु लैजानुपर्छ, हामी जिल्लासम्म मात्रै पगेका छौ, प्रत्यक्ष मानव जीवनमा पर्ने असरहरुको बारेमा सचेतनाको रुपमा तल्लो तहसम्म पुर्याउनुपर्छ, हामीले अहिले जिल्लासम्म मात्रै यस्ता कार्यक्रमहरु पुर्याएका छौँ, अबका दिनहरुमा स्थानीय तहमा स्वास्थ्य सजकताका बारेमा सचेतना दिने खालका कार्यक्रम लैजानुपर्छ।’
त्यस्तै कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल निर्मल, पशु स्वास्थ्य निर्देशनालयकी कार्यक्रम निर्देशक सम्झना काफ्ले लगायतले आफ्ना कुराहरु राखेका थिए ।