खोटाङ, १ मंसिर (रासस) : साबिकको स्थानबाट स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीयवासीले विरोध जनाएका छन् ।
लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई करिब दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीयवासीले विरोध जनाएका हुन् ।
छलफल नै नगरी स्वास्थ्यचौकी सार्न लागिएको विरोधमा असन्तुष्ट स्थानीयवासीले बिहीबार स्वास्थ्यचौकीमा ताला लगाएर नाराजुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
सूचना टाँस गरेर निःशुल्क जग्गाका लागि आह्वान गरिएपछि साबिकको स्वास्थ्यचौकी नजिक बाबुराम राई र विजय राईले पाँच रोपनी जग्गा दिन तयार भए पनि स्वास्थ्य सहयोग समितिका अध्यक्ष रहेका वडाअध्यक्ष निर्मल राईले स्वास्थ्यचौकी सार्न खोजेको स्थानीयवासी प्रेम कटुवालले बताउनुभयो ।
स्वास्थ्य सहयोग समितिले भने शान्तिशोभा राई र चरी राईले मोहोरियामा दिएको जग्गा बुधबार स्वास्थ्यचौकीको नाममा पास गराएपछि विरोध गरिएको स्थानीयवासीले बताएका छन् ।
आफूहरुले साबिकको स्वास्थ्यचौकी नजिक जग्गा दिन खोज्दा स्वास्थ्य सहयोग समितिले निवेदन लिन नै अस्वीकार गरेको असन्तुष्ट पक्षको आरोप छ । वडाअध्यक्ष निर्मल राईले भने सर्वदलीय बैठककै निर्णयअनुसार नै स्वास्थ्यचौकी सार्नका लागि जग्गा पास गरेको बताउनुभयो ।
यता, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले नाराजुलुससहित प्रशासन पुगेको टोलीलाई तत्काल ताला खोलेर सेवा सञ्चालन गराउन अनुरोध गर्नुभएको बताइएको छ ।