Logo

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान



राजविराज, १४ मंसिर । स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।

सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उहाँका कान्छा छोरा शैलेन्द्रचन्द्र झा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गर्नुभएको हो ।

स्वास्थ्य चौकी भवनको शिलान्याससमेत जग्गादाता शैलेन्द्रले नै गर्नुभयो । रु दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको उक्त भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले बताउनुभयो ।

सो ठाउँमा स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको जग्गादाता शैलेन्द्रले बताउनुभयो । यहाँ स्वास्थ्य चौकी निर्माण भएपछि हजारौँ जनता लाभान्वित हुने स्थानीय कोशलकुमार साहले विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्