Logo

नेपाल मेडिसिटी अस्पतालको अवलोकनपछि ओलीले भने,“यो अस्पतालले मुलुकलाई मेडिकल हब बनाउन सघाउँछ (फोटोफिचर)



उपचारको लागि विदेश जानु नपर्ने उपेन्द्र महतोको विश्वास, मेडिसिटी अस्पताल होइन अभियान हो

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल चिकित्सा उपचारको लागि मेडिकल हब बन्न सक्ने बताएका छन् ।

प्रसिद्ध उद्योगपति एवम् गैरआवासीय नेपाली संघ(एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको लगानीमा सञ्चालनमा आएको नेपाल मेडीसिटी अस्पतालको अवलोकन भ्रमणपछि उनले यस्तो बताएका हुन् ।

आइतबार अस्पताल परिसरमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । सडक विस्तार, मेलम्ची आदीले काठमाडौंमा धुलो, धुवा भएपनि यसलाई नियन्त्रण गर्न समय नलाग्ने उनको विश्वास थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ’यसपछि मुलुकको वातावरण अत्यन्त सुन्दर हुन्छ, यहाँ बिहान हिमाल हेर्दै उपचार गर्न जोसुकै रूचाउँछन्।’ हिमाल आफैंमा एउटा तेस्रो ध्रुव रहेकोले यहाँको वातावरण र स्वच्छताबीच ठूलो सम्बन्ध रहेको उनले बताए ।

त्यस्तै उनले नेपाल मेडिसिटी जस्ता अस्पतालले मुलुकलाई मेडिकल हब बनाउन सघाउने पनि स्पष्ट पारे । अस्पतालहरुले अस्पताल पुग्ने विरामीको खल्तीमा नभई रोग उपचारमा घ्यान दिनुपर्ने उनको भनाई थियो ।

आफ्नो उपचार अनुभव सुनाउँदै ओलीले भने,“कतिपय अस्पतालमा इमरजेन्सीमा पुग्ने विरामीको धरौटी खोजिन्छ, नभए फिर्ता पठाइन्छ, मैले आफू समेत धरौटी बिना उपचारमा ढिलाई भएको अनुभव गरेको छु भने सर्वसाधारणको स्थिति के होला?’ त्

यस्तै उनले आकस्मिक उपचारको लागि पुग्ने विरामीलाई अस्पतालले सबैभन्दा पहिले ज्यान जोगाउनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले उपचारको लागि विदेश जानु नपर्ने विश्वास दिलाउन मेडीसिटिको स्थापना भएको विशवास दिलाए ।

३५० शैय्याको सुपर स्पेसियालिटि अस्पतालमा अत्याधुनिक उपकरण, प्रविधिसँगै सबै विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने, ’मेडिसिटी अस्पताल होइन अभियान हो, अत्यन्त ठूलो भवन अत्याधुनिक उपकरण सेवा सुविधा भएपनि सेवा शुल्क सर्वसाधारणले थेग्ने खालको छ।’

अस्पतालका निर्देशक डा सुनीलकुमार शर्माले अत्याधुनिक उपकरण र प्रविधिले चिकित्सा विज्ञानको सबैजसो विधामा अन्तर्रा्ष्ट्रिय गुणस्तरको उपचार मेडिसिटीले दिई रहेको दाबी गरे। उनले भविष्यमा अस्पताललाई ७५० शैय्यासम्म विस्तार गरिने समेत उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्