पूर्णप्रसाद मिश्र: बेलझुन्डी, दाङ, १० पुस : नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद विषयको अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेको छ ।
विश्वविद्यालयले विसं २०६७ को शैक्षिक सत्रदेखि सो विषयको बेचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बिएएमएस) अध्ययन अध्यापन २१ जना विद्यार्थीबाट शुरु गरेको थियो । अध्ययनप्रति विद्यार्थीको आकर्षण बढेपछि विश्वविद्यालयले हाल सिट संख्या बढाएर ४० पु¥याएको छ ।
आयुर्वेदका प्रा डा रामचन्द्र अधिकारीले दिनुभएको जानकारीअनुसार विद्यार्थीको आकर्षण बढ्न थालेपछि विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि ४० जनाले पढ्न सक्ने व्यवस्था मिलाएको हो । आयुर्वेद अध्ययन संस्थान नै स्थापना गरी अध्यापन गराउने संस्कृत विश्वविद्यालय नेपालकै पहिलो हो ।
विज्ञान संकायमा जीवविज्ञान विषय लिएर दश जोड दुई परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याएका विद्यार्थीले बिएएमएस पढ्न पाउँछन् । यो योग्यता हासिल गरेका धेरै विद्यार्थीले संस्कृत विश्वविद्यालयमा आयुर्वेद पढ्न आवेदन दिने गरेका छन् ।
संस्थानअन्तर्गत विश्वविद्यालयका तीन क्याम्पसमा आयुर्वेद अध्यापन भइरहेको छ । दाङको बेलझुन्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठ, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर र पतञ्जलि आयुर्वेद मेडिकल धुलिखेल छन् ।
सम्बन्धन प्राप्त निजीस्तरका कलेजमा अस्पताल, पढाउने प्राध्यापक र व्यवस्थापनको समस्या छ । साढे पाँच वर्ष लाग्ने आयुर्वेद कोर्षका लागि रु ११ लाख शुल्क तोकिएको छ । विश्वविद्यालय ५० श्ययाको आयुर्वेद अस्पतालसमेत सञ्चालन गरेको छ ।
विश्वविद्यालयका प्रा डा अधिकारी प्राचीनकालमा आयुर्वेदको महत्व बढी भए पनि समयक्रममा ओझेलमा परेको बताउनुहुन्छ । “सरुवा रोगको बिगबिगी भएका बेला एन्टियोबायोटिकले ठीक गथ्र्यो, मधुमेह, मुटु, अर्बुद, हृदयाघात, मस्तिष्कघात आदि बढ्न थालेपछि आयुर्वेदको महत्व पीडितले बुझ्न थालेका छन्, उच्च वर्गका मानिस बुझेर आयुर्वेदमा आकर्षित छन्, निम्न वर्गका निःशुल्कले आउँछन्, मध्यम वर्गका मानिस अझै आयुर्वेद उपचार पद्धतिमा आइपुगेका छैनन्”–उहाँले भन्नुभयो ।
आयुर्वेद पूर्ण विज्ञान भएकाले कसरी जीवनयापन गर्ने सिकाउँछ । खानपानका कारण लाग्ने रोगबाट बचाउँछ । आयुर्वेदमा कुन ऋतुमा के खाने ? कसरी बस्ने ? भन्ने विषयमा दिनचर्या र रात्रिचर्याको व्यवस्था गरिएको छ ।
आयुर्वेदिक औषधिमा रासायनिक पदार्थ प्रयोग नगरिने भएकाले यसले कुनै ‘साइड इफेक्ट’ गर्दैन । प्राकृतिक रुपमा आयुर्वेदका औषधिको निर्माण हुन्छ । आयुर्वेद औषधिको सेवनले रोग निको गर्नुका साथै शरीरमा प्रतिरोधी क्षमता बढाउँछ ।
आयुर्वेदका धेरै पुस्तक संस्कृतमा भएकाले पनि विद्यार्थीले संस्कृत विश्वविद्यालयमै पढ्ने इच्छा राख्ने गरेका छन् । विश्वविद्यालयबाट बिएएमएस अध्ययन पूरा गर्नुभएका श्याम भट्टराई आयुर्वेद अध्ययन संस्कृतमै राम्रो हुने बताउनुहुन्छ ।
डोकोमा जडीबुटी, ट्याब्लेटमा औषधि
नेपाल दक्षिण फर्किएको भूमि भएकाले यहाँको जडीबुटी बढी प्रभावकारी हुन्छ । विहारको अदुवाभन्दा नेपालको राम्रो हुन्छ । टिम्बुर, मृत्युञ्जय रस र बत्सनाभ पनि नेपालको हिमालय क्षेत्रकै राम्रो हुने अनुसन्धानबाट प्रमाणित भइसकेको बताउनुहुन्छ प्रा डा अधिकारी ।
आयुर्वेदमा दूध भन्नाले जुरो भई जडीबुटी भएको जंगलमा चर्ने गाईको रसलाई बुझिन्छ । आयुर्वेदिक रुपमा वैदिक संस्कृतिको जीवन पद्धति पनि वैज्ञानिक छ । खाना बनाउने ठाउँमा बाहिरबाट आएर सिधै नछुने, अलग कपडा पहिरिएर खाना खाने परम्परा पनि आयुर्वेदिक दृष्टिले महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
दिउँसो रुख बिरुवाको बोटमुनि बस्ने, राति नबस्ने विधि आयुर्वेदिक दृष्टिले उपयुक्त छ । रुख बिरुवाले दिउँसो अक्सिजन फाल्छ भने राति अक्सिजन लिन्छ । कफकारक औषधिका रुपमा तुलसीलाई लिइन्छ । पीपल, पारिजात, बेलजस्ता रुख सबै आयुर्वेदिक औषधिमा काम लाग्छ ।
आयुर्वेदमा आनी बानी ठीक भए ८० प्रतिशत रोग लाग्दैन । २० प्रतिशत रोग दिनचर्या, रात्रिचर्या र ऋतुचर्या पालना गरे ठीक हुन्छ भन्ने मत आयुर्वेदिक ग्रन्थमा रहेको अधिकारीले बताउनुभयो । निरोगीलाई निरोग नै राख्ने र रोगीलाई निरोगी बनाउने विधि आयुर्वेदमा उल्लेख गरिएको छ ।
हिमालयको देश नोपल जडीबुटीमा धनी भए पनि नीति निर्माताले यसको महत्व बुझ्न सकेनन् । नीति निर्माताले जडीबुटीको महत्व नबुझ्दा देशबाट डोकोमा जडीबुटी बाहिरिएर ट्याब्लेटमा औषधि आपूर्ति हुने गरेको छ । जडीबुटीको महत्व बुझाउन विश्वविद्यालयले खेती गर्ने भएको छ । दाङमा रहेको विश्वविद्यालयको जग्गामा जडीबुटी खेती गर्ने तयारी गरिएको उपकुलपति प्रा डा कुलप्रसाद कोइराला बताउनुहुन्छ ।
“देउखुरीमा एक हजार ३७६ र बेलझुन्डीमा ४२ बिगाह जग्गा अतिक्रमण भएको छ, एक जना सुकुम्बासीले १८ धुर जग्गा कमाएका छन्, अरु सबै हुकुम्बासीले कब्जा गरेका छन्, जग्गा फिर्ता गर्न पाँच वटा सर्वदलीय बैठक भइसकेको छ, अब केही समयमै समस्या समाधान हुने विश्वास छ”– उहाँले भन्नुभयो ।
यी जग्गाबाट विश्वविद्यालयमा विसं २०५८ सम्म एक हजार ४०० मुरी धान भित्रिन्थ्यो । देउखुरीमा दुई वटा धनसार नै थिए । यो धान बेचेर विश्वविद्यालयको आवश्यकता पूर्ति गरिन्थ्यो । तुलसीपुर र घोराही नगरपालिकामा पनि विश्व विद्यालयको ३२६ बिगाह जग्गा छ ।
यसमध्ये पाँच बिगाहमा विश्वविद्यालयले जडीबुटी खेती गर्न रु एक करोड बजेट छुट्याएको छ । अर्को पाँच बिगाहमा तुलसीपुर नगरपालिकाले जडीबुटी खेती गर्ने प्रस्ताव गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम पाण्डे नमूनाका रुपमा जडीबुटी खेती गर्ने तयारी गरिएको बताउनुहुन्छ ।