Logo

सिँचाइका लागि पोखरी प्रभावकारी



बाबियाचौर, म्याग्दी, १२ पुस । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाइ गर्ने प्रविधि प्रभावकारी बनेको छ । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपूर्ति गर्दा सिँचाइ गर्न सहज भएको हो । पोखरी निर्माण भएपछि सुख्खायाममा पनी सिँचाइ सुविधा भएपछि कृषकले मौसमी र बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन् ।

बेनी नगरपालिका–२ खबराका कृषक यामबहादुर घिमिरेले पोखरी निर्माण भएपछि बाह्रैमास सिँचाइ सुविधा उपलब्ध भएको बताउनुभयो । खबराको सिम्ले टोलका पाँच घरधुरीले गत वर्ष ६० हजार लिटर क्षमताको पक्की पोखरी बनाएका थिए ।

“मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक पर्दा आलोपालो गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “पोखरीको पानी हिउँदमा गहुँ, तोरी, आलु र तरकारी बालीमा सिँचाइ गर्न प्रयोग गर्छौँ ।”

पानीको स्रोत थोरै भए पनि पोखरीमा संकलन गर्दा सिँचाइ गर्न छिटो र सजिलो भएको छ । पोखरीमा पानी संकलन गर्ने व्यवस्था भएपछि हिउँदको सुख्खायाममा तरकारी उत्पादन गर्न सहज भएको खबराका प्रकाश घिमिरेले बताउनुभयो । तरकारी र केरा खेतीका लागि खबराका हरेक टोलमा पोखरी निर्माण गरिएको छ । पोखरी भरिन दुईतीन दिन लाग्छ ।

खबरामा पचास जनाभन्दा बढी व्यावसायिक कृषक छन् । हाँडेभिरबाट पम्प गरेर लभ्लीहिलमा पु¥याएको पानी पिपलडाँडा र दारम्बोट पु¥याएर पोखरीमार्फत गाउँभरि सिँचाइ सुविधा विस्तार गर्न पहल गरिएको सो आयोजनाका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

एउटा पोखरी निर्माण गर्न रु दुई लाखदेखि रु तीन लाखसम्म खर्च लाग्छ । गत वर्ष जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा खबरामा पाँचवटा पोखरी निर्माण तथा दुईवटा पुराना पोखरीको मर्मत गरिएको भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

बेनी नगरपालिका– १ रत्नेचौर, ४ थामडाँडा, भगवतीको रिसिन चौतारी लगायतका ठाउँमा पोखरी निर्माण गरी सिँचाइ गरिँदै आएको छ । पानीको स्रोत कम भएको ठाउँमा पोखरी प्रभावकारी बनेको भूसंरक्षण अधिकृत पौडेल बताउनुहुन्छ ।

स्थानीय तहका जनप्रतिनिधि र कृषकले सुख्खा क्षेत्रमा पोखरी बनाउने योजनालाई निरन्तरता दिएमा सिँचाइ सुविधा विस्तारका साथै कृषि उत्पादन र आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्