Logo

निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी



भक्तपुर, १३ पुस । मध्यपुरथिमि नगरपालिकाले वडा नं ४ मा निर्माणाधीन क्षयरोग अस्पतालको भवनमा शिलबन्दी गरेको छ ।अस्पतालक्षेत्र भित्र सरकारको रु २९ करोडको लागतमा निर्माण भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शय्याको क्षयरोग अस्पतालको निर्माण कार्य रोक्दै नगरपालिकाले आज शिलबन्दी गरेको हो ।

नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत नगरपालिका कर्मचारीको टोलीले शिलबन्दी गरेका कारण भवन निर्माण रोकिएको छ ।

नगरपालिकासँग स्वीकृति नलिई र नक्सासमेत पास नगरी निर्माण शुरु गरेको भन्दै नगरपालिकाले शिलबन्दी गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकार आएपछि नगरपालिकाले पटक पटक केन्द्रमा पत्राचार गरेर भवन निर्माणको स्वीकृत लिई नक्सा पास गरेरमात्रै भवन निर्माण गर्न आग्रह गर्दा पनि केन्द्रले अटेर गर्दै भवन निर्माण थालेपछि बाध्य भएर शिलबन्दी गरेको उहाँले बताउनुभयो ।

प्रमुख श्रेष्ठले भन्नुभयो, “केन्द्रले नगरपालिकामा नक्सासमेत नबुझाई भवन निर्माण शुरु ग¥यो, माथिको बस्तीसमेत उच्च जोखिममा पारेर नियम विपरीत ९० डिग्रीको कोणमा १५० फिटभन्दा बढी ठाडो गरी माटो काटेको पाइयो, त्यसैले नियमसंगत आओस् भनेर शिलबन्दी गरेको हाँै ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–७ दफा २७ र २८ मा भवन निर्माण गर्दा वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृत लिनुपर्ने स्पष्ट व्यवस्थालाई सरकारी निकायले नै लत्याएर भवन निर्माण शुरु गरेकाले शिलबन्दी गर्नुपरेको बताउनुभयो ।

विसं २०७२ को भूकम्पपछि सांसदहरुले नै सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्डअनुसार जानुपर्ने व्यवस्था गराएकामा अस्पताल जस्तो संवेदनशील भवन बनाउँदा क्षयरोग केन्द्रले सरकारको नियम मिच्न खोजेको उहाँको भनाइ थियो ।

नगरपालिकाको प्राविधिकसहितको टोली आएर पटक पटक मापदण्ड र प्रक्रिया पु¥याउन आग्रह गर्दा पनि केन्द्रले अटेर गरेको अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले शिलबन्दी गर्दा पनि केन्द्रले जबर्जस्ती गरेर निर्माण कार्य थालनी गरे मध्यपुरथिमिका बासिन्दा उर्लिएर आउने प्रतिक्रिया दिनुभयो ।

यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले एउटा सरकारी निकायले भवन विभागको नक्सा, मापदण्ड र स्वीकृतिमा अस्पताल भवन निर्माण गर्दा अर्को सरकारी निकायले रोक्नु नपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकामा नक्सा स्वीकृत गराउनु पर्ने हो तर अस्पताल निर्माणको बजेट फ्रिज होला भनेर हतारमा भवन निर्माण गरेका हौँ, केही दिनभित्रै नक्सा पास गर्न नगरपालिकामा पेश गर्छौं ।”

उहाँले काठमाडौँको वीर अस्पतालसमेत मापदण्ड विपरीत रहेको बताउँदै भवन विभागभन्दा नगरपालिका ठूलो नभएको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालय र स्थानीय विकास मन्त्रालयका सहसचिवले समेत शिलबन्दी गर्नु गलत भएको आफूलाई जानकारी गराएको बताउनुभयो ।

बस्ती जोखिममा

अस्पताल भवन निर्माणका लागि डाँडो भास्ने क्रममा माथिको बस्तीको ख्याल नगरी ठाडो गरेर माटो झिक्दा यहाँका सातघर रहेको बस्ती जोखिममा परेको छ ।

स्थानीय गीता श्रेष्ठले घर तल दिनदिनै डोजर लगाएर माटो झिक्दा यहाँको बस्ती नै थर्किने र पहिरोले घर भत्किने डरले रातभरि सुत्न नसक्ने बताउनुभयो । उहाँले घर भत्किन लाग्यो डाँडो नखन्नुस् भन्दा ठेकेदारले कुरै नसुनेको बताउनुभयो ।

स्थानीय देवकी श्रेष्ठले यहाँको बस्ती नै जोखिममा परेको र स्थानीय बासिन्दाको मागको बेवास्ता गरी अस्पताल निर्माण गरेको आरोप लगाउनुभयो । क्षयरोग सरुवा रोग भएको र यसको किटाणु बस्तीमा आउने जोखिम भएको भन्दै यहाँ बिरामी राख्ने गरी अस्पताल बनाउन नदिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्