Logo

मुख्यसचिवले नटेरेको भन्दै मन्त्रीहरुले सुनाए प्रधानमन्त्रीलाई गुनासो



काठमाडौं, १३ पुस । नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले आफूहरुलाई नटेरेको भन्दै मन्त्रीहरु आज रेग्मीविरुद्ध खनिएका छन् ।

बिहीबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासामु मन्त्रीहरुले यस्तो गुनासो पोखेका छन् । बैठक प्रारम्भ हुन नपाउँदै मन्त्रीहरुले मुख्य सचिव रेग्मीले सहयोग नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

सुरुमा खेलकुदमन्त्री राजन कुमार केसीले मुख्य सचिव रेग्मीले आफ्नो फोन नै रेस्पोन्स नगरेको गुनासो पोखे । उनको भनाई उद्धृत गर्दै एक मन्त्रीले पत्रकार ऋषि धमलासँग भने,“सुरुमा खेलकुदमन्त्रीले गुनासो पोख्नुभयो, त्यसपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पनि आफ्नो गुनासो पोख्नुभयो।”

सरकार चाँडै ढल्ने भएकोले होला मुख्य सचिवको निर्देशनमा सबै सचिवहरुले मन्त्रीलाई खासै भाउ दिएका छैनन् । त्यसैले होला आजको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीसामु मन्त्रीहरुले विभागीय कामभन्दापनि मुख्यसचिवको फोन आतंकबारे गुनासो पोखे ।

त्यस्तै बैठकमा कृषिमन्त्री रामकृष्ण यादवले पनि आफूलाई सचिवले नटेरेको भन्दै आक्रोश पोखे । सचिवहरुले आफूलाई नटेरेको भन्दै मन्त्रीहरुले यस्तो गुनासो पोखेपछि प्रधानमन्त्री देउवाले मुख्यसचिवसँग स्पष्टीकरण लिएका थिए । तर, मुख्यसचिव रेग्मीले भने आफूले त्यस्तो निर्देशन नदिएको बरु यो सरकार रहने अन्तिम दिनसम्म प्रधानमन्त्रीको हरेक निर्देशन तथा आदेशलाई पूर्ण रुपमा पालना गर्ने वचन दिए ।



प्रतिक्रिया दिनुहोस्