Logo

वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै



काठमाडौं, २२ साउन । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थनै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् ।

मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा काठमाडौंको कपनस्थित् रिलायन्स पब्लिक स्कुलमा आयोजित जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर पौडेलले यस्तो बताएका हुन् ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले भने,‘नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारणले ९ हजार भन्दा बढिको ज्यान गैरहेको छ । र, सुर्तीजन्य पदार्थको उपभोगले गर्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण तीसौं हजार मानिसले अकालमै ज्यान गुमाएका छन् । यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तीजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ । यो डरलाग्दो तथ्यांक हो । हामी सबै सचेत हुनुपर्छ।’

त्यस्तै काउन्सिलका अध्यक्ष कडरियाले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयीस्तरबाट नै बालबालिकाहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले थपे,‘हामीले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयस्तरीयबाटै नै सचेतना अभियान सञ्चालन गर्नुपर्छ । आजका बालबालिकाहरु भनेको भविष्यका कर्णधार हुन् ।’

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नम्बर ३ की जनसम्पर्क उप–व्यवस्थापक सुधा शर्माले पनि सुर्तीजन्य पदार्थको रोकथामको लागि काउन्सिलले खेलेको भूमिकाको प्रशंशा गरेकी थिईन् । उनले मुलुक समृद्धिको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिईन् ।

शर्माले बालबालिकाहरुलाई सानै उमेरदेखि वचत गर्ने बानिको विकास गर्न आग्रह गर्दै वित्तिय साक्षात्कारबारे पनि प्रकाश पारेकी थिईन् । उनले भनिन्,‘बालिकालिकाहरुलाई फजुल खर्च गर्नबाट अभिभावले रोक्नुपर्छ । यसको लागि उनीहरुलाई सानैदेखि वचत गर्ने बानीको विकास गराउनुपर्छ । यसो भयो भने उनीहरु कुलतमा फस्दैनन् ।’



प्रतिक्रिया दिनुहोस्