Logo

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपानको सुझाव



नेपालगञ्ज, ३ भदौ । “छ वर्ष भयो श्रीमानको उपचार गराउन थालेको । रु सात लाख खर्च भइसक्यो । तर, रोग निको नै हुँदैन” बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले आप्mनो व्यथा यसरी सुनाईन ।

शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ । यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ ।

पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन । तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारु समुदायमा यो रोग बढी देखिएको छ । “सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भए पनि यो अलि कडा खालको हुन्छ,” भेरी अञ्चल अस्पतालमा डा राजन पाण्डे बताउन्छन।

“जीवनभर ओखती खाइरहनुपर्ने यसका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र ओखतीको व्यवस्था मिलाउनु पर्छ,” बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ ।

सरकारले यो रोगको परीक्षण र उपचार गर्न नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथामिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ ।

“सिकलसेल एनिमिया भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन । तर, चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन । बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहन सके यसका रोगी सामान्य जीवन बाँच्न सक्छन्,” भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सुझाव छ ।

नेपालमा सिकलसेल एनिमिया रोग पत्ता लगाउने पहिलो चिकित्सक डा पाण्डेका अनुसार यसको उपचार क्रममा १२ ले ज्यान गुमाइसके । भेरी अञ्चल अस्पतालमा २१५ को उपचार भइरहेको छ ।

तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । पश्चिम नेपालमा करीब २० लाख थारुको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रूपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्