Logo

अस्पताललाई डायलाइसिस उपकरण प्रदान



म्याग्दी । यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ ।

रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराउनुभएकोे हो ।

अस्पतालमा बुधवारआयोजित कार्यक्रममा सहयोगदाता सुवेदी परिवारका तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना सुवेदीले अस्पतालका निमित्त प्रमुख डा अनिल पाण्डे र अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई ती उपकरण हस्तान्तरण गर्नुभयो ।

अष्टे«लियामा बसोबास गर्दै आउनुभएका सहयोगदाता माधव सुवेदीले आफ्नो आमा मिर्गौलाबाट पीडित भई लामो समयसम्म उपचार गराउनुपरेको संझना गर्दै दुर्गम र पिछडिएका क्षेत्रका गरीब र विपन्न वर्गका मिर्गौला पीडितको सहज उपचार हुन सकोस् भन्ने उद्देश्यले ती उपकरण सहयोग गरिएको बताउनुभयो ।

“मिर्गौला रोगको उपचार जटिल र महङ्गो छ, आर्थिक विपन्नताका कारण शहरी क्षेत्रमा पुगेर उपचार गराउन नसक्दा उपचारबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना छ, यो उपकरणको पूर्ण सदुपयोग होस् भन्ने हामीले चाहेका छौँ, सहयोगदाता सुवेदीले भन्नुभयो ।

यस उपकरणले मिर्गौला पीडितको उपचार शुरु गर्न आधार बनेको अस्पतालका निमित्त प्रमुख डा पाण्डेले बताउनुभयो । उहाँले जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालीम समेत दिइएकाले छिट्टै डायलाइसीस सेवा शुरु हुने जानकारी दिनुभयो ।

अस्पतालले पनि रु १३ लाखमा डायलाइसीका लागि प्रयोग हुने आरओ उपकरण खरिद गरिसकेको अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रेग्मीले बताउनुभयोे ।



प्रतिक्रिया दिनुहोस्