Logo

जिल्ला प्रशासनमा सेवाग्राहीको स्वास्थ्य परीक्षण



काठमाडौँ,२९ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ । नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा हरेक बुधबार स्वास्थ्य परीक्षण गरिने र विस्तारै प्रभावकारी हुँदै गएमा शनिबारबाहेक सबै दिन सुविधा दिइने बताउनुभयो ।

स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । स्वास्थ्यकर्मीले सेवाग्राहीको उच्चरक्तचाप, सामान्य रुघाखोकी, ज्वरो, चोटपटकलगायतका समस्याको तत्काल उपचार गर्नेछन् भने जटिल रोगका लागि उचित परामर्श प्रदान गरिने जिल्ला कारागारका स्वास्थ्य सहायक धनकुमारी पुनले बताए।

स्तनपानकक्षको तयारी

प्रमुख ढकालले प्रशासन कार्यालयमा आउने सुत्केरी तथा साना बालबच्चा भएका महिलालाई लक्षित गरी छुट्टै स्तनपानकक्षसमेत निर्माण गर्ने तयारी गरेको पनि जानकारी गराएका छन । निकट भविष्यमै सरिने नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि व्यवस्थित स्तनपानकक्ष पनि सञ्चालन गरिने ढकालले जानकारी गराए ।रासस



प्रतिक्रिया दिनुहोस्