Logo

पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको व्यंग्य : कतिपयलाई कुल घरानाको चिन्ता छ, हामी अब उपलब्धि गुम्न दिँदैनौं (भिडियोसहित)



काठमाडौं, ६ पुष । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कटाक्ष गर्दै अब गैसकेको संस्थालाई सम्झेर नबस्न व्यंग्य गरेका छन । नेपाल इन्जिनियर्स एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बालुवाटारमा बिहीबार बधाइ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले लोकतन्त्रको विकल्प कोही नभएको पनि बताए ।ओलीले लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति नभएको ठोकुवा गरे ।

आफू नेतृत्वको सरकारलाई जनताले ५ वर्ष ढुक्कसँग चलाउन म्याण्डेट दिएको बताउँदै अब बीचैमा….सरकार तलमाथि गर्ने कुनै तागद कोहीसँग नभएको पनि उनले जिकिर गरे । पूर्वराजा ज्ञानेन्द्रप्रति संकेत गर्दै प्रधानमन्त्री भने,‘अहिले उल्लेख नगर्दा हुने केही केही तत्वहरु, शक्तिहरु तिथि, श्राद्ध आदिमा निस्किन्छन् । केही केही संस्था सम्झिएर, तर त्यो ईतिहास हो ।’

अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै प्रतिक्रियावादी शक्ति नभएको पनि ओलीको जिकिर छ । उनले भने,‘त्यस्तोले लोकतन्त्रलाई केही गर्न सक्दैन् । नेपाली जनता अब कलिलो, काँचो लोकन्त्रलाई होईन, हामीले लड्दै जित्दै, फेरि खोसिँदै, लड्दै लोकतन्त्र लामो बलिदानीपूर्ण संघर्षबाट ल्याएका छौं । विगतमा हामीले परिवर्तनको उपलब्धि धेरै गुमायौं । अब हामी उपलब्धि गुम्न दिँदैनौं।’

लोकतान्त्रिक व्यवस्थामा कुल घरानाका मान्छेहरु छटपटाएको भन्दै उनले ज्ञानेन्द्रप्रति व्यंग्य हाने । त्यस्तै उनले जनताले कुल घरानाको शासक नभएर जनताको सेवक खोजेको स्पष्ट पारे । उनले अघि थपे,‘अहिले कतिपय मान्छेलाई खान्दान र कुल घरानाको चिन्ता छ, जनताको निम्ति काम गरौं। कुल घराना वा नघरानाबाट जो पनि आउन सक्छ।’

तस्विर तथा भिडियो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot