Logo

चीनले चन्द्रमामा उमार्‍यो बीउ !



काठमाडौं, २ माघ । पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’ इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार ।चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् । चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’ गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए ।

चीनले गएको महिना मात्रै चन्द्रमाको सतह अध्ययन गर्ने उद्धेश्यले चाङ’ई–४ ल्याण्ड रोभर प्रक्षेपण गरेको थियो । यो यान यही जनवरी ३ मा चन्द्रमामा सफलतापूर्वक अवतरण भएको थियो । बाँकी देशको तुलनामा चीनको यो अभियान एकदमै अलग छ । चीनले पहिलो पल्ट पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा आफ्नो उपकरण अवतरण गराएको थियो ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट देखिने चन्द्रमाको भागमा ल्याण्ड रोभरजस्ता उपकरण अवतरण गराउन सहज हुन्छ । तर अर्को भागमा खाल्डाखुल्डी धेरै हुने भएकाले उपकरणहरु अवतरण गराउन कठिन हुन्छ ।



प्रतिक्रिया दिनुहोस्