वैशाख २८, काठमाण्डौ । नेपाली टेलिभिजनमा प्रशारण हुने धेरै अन्तरवार्तामूलक कार्यक्रममध्ये पछिल्लो समय चर्चामा रहेको कार्यक्रम हो जनता जान्न चाहन्छन् ।
पत्रकार ऋषि धमलाले हरेक जसो अतिथीलाई प्रश्न सोध्दा जनता जान्न चाहन्छन् भन्न भ्याइहाल्छन् । यसअघि धमलाले चलाउने कार्यक्रम धमलाको हमला पनि निकै चर्चामा थियो । त्यस कार्यक्रममा पनि धमला अतिथीमाथि प्रश्नको हमला गरिहाल्थे ।
विशेषगरी राजनीतिसँग सम्बन्धित अतिथीसँगको कुराकानीमा धमलाले हमला गर्ने गर्दछन् । नेपालको राजनीति र यसमा आवद्ध नेताहरुको कार्यशैली जनतामुखी नहुँदा देशले विकासको गति लिन नसकेको सबैले स्वीकार गरेकै कुरा हो । यही तथ्यमा रहेर धमलाले नेताहरुलाई प्रश्न गर्छन् ।
रिपोर्टर्स क्लबको वार्षिकोत्वसममा प्रधानमन्त्री केपी ओलीलेसमेत धमलाको कार्यक्रम र शैलीको झण्डै २० मिनेट चर्चा गरेका थिए । ओलीले भनेका थिए–“ऋषि धमलाले जे बोल्यो त्यही कार्यक्रमको नाम । जसरी कार्यक्रम चलायो त्यो शैली पनि कार्यक्रमको नाम । जनता जान्न चाहन्छन् भनेर बारम्बार भन्ने थेगो नै कार्यक्रम बन्यो । सबैमाथि हमला गर्ने शैली पनि कार्यक्रम बन्यो ।”
माथि उल्लेखित २ कार्यक्रमलाई लक्षित गरेर ओलीले भनेका थिए । धमलाले अहिले प्राइम टाइम्स टेलिभिजनमा संचालन गरिरहेको कार्यक्रम जनता जान्न चाहन्छन्मा हरेक दिनजसो चर्काचर्की तरिकाले बहस हुने गर्दछ । प्राय दुई वा तीन जना अतिथी राखेर उनले कुनै खास विषयमा बहस गराउँछन् । फरक विचार भएका अतिथीहरुसँगको बहस स्वभावैले अलि चर्काचर्की हुन्छ ।
चर्काचर्की र विवाद यतिसम्म भइदिन्छ कि अतिथीहरुबीच झगडा नै पर्छ । तथानामा आरोप–प्रत्यारोप भइदिन्छ । कहिलेकाँही त संचालक धमलालाई कार्यक्रम ह्याण्डल गर्नै हम्मे हम्मे पर्छ । यस्तै दृश्य देखियो वैशाख २८ गते शुक्रबारको जनता जान्न चाहन्छन्मा ।
अथिती थिए सत्तारुढ दल नेकपाका नेता सत्यनारायण मण्डल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामकृष्ण यादव ।
धमलाले कार्यक्रमको सुरुवातामा विषय उठान गर्दा संसदमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सांसदहरुबीच भएको विवादको चर्चा गरे ।
त्यसपछि सुरुमा नेकपा नेता मण्डललाई प्रश्न गरे सरकारले कस्तो काम गरिरहेको छ ? प्रदेश २ मा विकास भइरहेको छ ? जनता जान्न चाहन्छन् ।
प्रश्नपछि मण्डलको प्रस्तुती निकै शालिन र भद्र थियो । उनी सत्तारुढ दलका नेता भएकाले स्वभाविक रुपमै सरकारको बचाउ गर्दै नम्र जवाफ दिए ।
त्यसपछि धमलाले प्रश्न गरे यादवलाई । रामकृष्ण यादवजी, वर्तमान सरकार सफल हो ?
यादवको जवाफ आयो–यो सरकार सफल कि असफल भनेर मैले भनिरहनु पर्दैन । किनकी दुनियाँलाई थाहा छ । यो सरकार भ्रष्टाचारमा अगाडि छ विकासमा पछाडि ।
सुरुवाती दुई नेतालाई सोधिएको प्रश्न र आएको जवाफले प्रष्ट पार्छ कि सत्तापक्ष र विपक्षीबीच कुरा मिल्दैन ।
कार्यक्रम अगाडि बढ्दै जाँदा नहुनुपर्ने भयो । केहीबेरपछि नै जवाफ दिने क्रममा मण्डलले यादवलाई चोर औँलाले देखाउन सुरु गरिसकेका थिए । कुनै पनि समय दुई नेताबीच सौहाद्रता देखिएन ।
आरोप–प्रयारोप नै चलिरह्यो । यादवले दुई तिहाई बहुमत हुँदा पनि सरकारले केही पनि काम गर्न नसकेको भनिरहे । उता मण्डलले विरोधका लािग विरोध मात्रै गरिएको तर्क गरे ।
यादवले पनि मण्डलतर्फ चोर औँला तेस्र्याउन सुरु गरिसकेका थिए । मण्डलले बलत्कारको प्रसंगमा बोल्दाबोल्दै यादवले भनिदिए–उहाँको रगतमा बलात्कार गर्ने छ । त्यसपछि सुरु भयो अराजकता । बीचमै बोलेको भन्दै मण्डल पनि आक्रोषित हुन थाले ।
आक्रोषमा होस गुमाएका मण्डलले बलात्कार हुनु सामान्य हो भन्ने अर्थ लगाइदिए । मण्डलले पुरुषप्रधान समाजमा बलात्कारीको खुन छसम्म भन्न भ्याए । हाम्रा बाहरुले बलात्कार गर्थेसमेत भने । जुन कुरा अहिलेको परिस्थितमा भन्नै हुन्थेन ।
मण्डलको भनाईको यादवले खण्डन मात्र के गरेका थिए आफै कुर्सीबाट उठ्दै भने–बिना मतलबको कुरा गर्ने ?
नेताहरुबीच त झगडा भयो नै । अब फसाद पर्यो ऋषि धमलालाई । मण्डल उठेपछि धमलाले बस्नुस बस्नुुस भन्न थाले । दुई जनाबीच अर्थहिन विवाद हुन थालेपछि धमलाले रोक्ने प्रयास पनि गरे । मण्डलले विवादैबीचका बिच पानी पिए ।
मण्डल यति उग्र भए कि आजदेखि तपाईको कार्यक्रम बहिष्कार गर्छु भनेर ऋषि धमलामाथि खनिए । अनि पिन माइक नै खोल्न थाले । तर ऋषि धमला जिम्मेवार बन्दै पख्नुस पख्नुस भदै रोक्न थाले । मण्डल रोकिएजस्तो पनि गरे ।
जस्तो परिस्थितीमा पनि हासिँरहने धमलाको बानी त्यहाँ पनि देखियो । तर उनी कार्यक्रममा भइरहेको घटनाक्रमप्रति निकै चिन्तित थिए ।
केहीबेर धमला पनि नेताहरुको शैली प्रति असन्तुष्ट देखिए । नेताहरुले एक अर्काको कुरा सुन्ने धैर्यता राख्नुपर्छ, आफ्नो तर्क पनि गर्नुपर्छ भन्दै दुवै जनालाई एकछिन झपारे पनि ।
अनि प्रसंग मोडेर संविधान संशोधनको विषय उठान गरे । केहीबेर कुरा भयो ।
केहीबेरको चर्काचर्कीपछि बोल्दा बोल्दै यादवले भने जो चोर उसैको ठूलो स्वर । अनि मण्डलले फर्काए उहाँको पार्टी भनेको डाँका हो । मण्डल पहिला उठे अनि यादव नि उठे । अब कार्यक्रममा विवादले सिमा नाघ्यो ।
नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक दुई अथिती र संचालक नै सिटबाट उठे । उठेरै दुई जना झगडा गर्न थालेपछि धमला पनि उठेरै सम्झाउन बाध्य भए ।
दुवैजनालाई धमलाले केहीबेर बस्न आग्रह गरे । अनि बसे । तर के गर्ने के नगर्ने जस्तो अलमलमा पुगिसकेका थिए धमला । दुवै जना बसेर पनि झगडा गरिरहेका थिए ।
सम्हालिएर धमलाले दुई हात जोडेर दुवै जनालाई सभ्य बहस गर्न आग्रह गरे । धमलाले भने–तपाईहरु जनताको प्रतिनिधि हो, सभ्य हुनुस्, शिष्ट हुनुस्, बौद्धिक बहस गर्नुस् ।
कार्यक्रम औपचारिक रुपमा नटुङ्गिदै मण्डलले उठेर धमलाको हात समाए अनि धमलो थ्याङ्क्यू सोचम भनेर कार्यक्रम टुङ्ग्याए ।
झगडा अहिले समामाजिक संजालमा भाइरल बनिसकेको छ । अन्तरवार्ताको पूरा अंश यहाँ पनि प्रस्तुत गरिएको छ ।