Logo

ओलीको अमेरिका कनेक्शन



प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग निकटता बढाउँदै लगेका छन् । अमेरिकी सरकारले ओली कार्यकालमा नेपालमा चासो बढाउँदै लगेको सन्देश दिइरहेको छ । उसले सुरक्षा मामलामा रणनीतिक साझेदारका रुपमा नेपाललाई समावेश गरिसकेको छ । ओली प्रधानमन्त्री भएपछिका विकसित घटनाक्रमले ओलीको अमेरिकासँगको कनेक्शन बलियो देखिएको छ ।

विदेशमन्त्रीस्तरीय भेट हुँदै सैन्य तहको भ्रमण र सम्बन्ध विस्तार पछि अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको सन्देश गइसकेको थियो । अमेरिकी रक्षा विभागले नेपाललाई रणनीतिक साझेदार मुलुक भनेपछि अमेरिकी चासोले नयाँ उचाई पाएको छ ।

विदेशमन्त्रीस्तरीय भेट

३ पौष २०७५ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल आर. पम्पिओसँग भेटेका थिए । कुटनीतिक क्षेत्रमा यो भेटले निकै अर्थ राख्यो । विदेशमन्त्री तहमा ह्वाइट हाउसमा यसअघि भेट हुनेगरेको थिएन ।

भेटमा नेपालको ‘इन्डो प्यासिफिक’ क्षेत्रमा केन्द्रीय भूमिकाबारे छलफल भएको अमेरिकी दूतावासले उल्लेख गरेको थियो । अमेरिकी सरकारले भनेको थियो, ‘इन्डो प्यासिफिक क्षेत्रलाई स्वतन्त्र, खुल्ला र समृद्ध बनाउनमा नेपालको केन्द्रीय भूमिकाबारे दुवै नेताले छलफल गरे ।’

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिका जानुअघि रिपोर्टर्स क्लब नेपालमा अब अमेरिकासँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएका थिए । अमेरिकाले कुनै क्षेत्रीय शक्तिको चश्माबाट नेपाललाई नहेर्ने ज्ञवालीको अभिव्यक्ति अर्थपूर्ण थियो ।

अमेरिकाले नेपाललाई भारतको चश्माबाट हेर्छ भन्ने कुटनीतिक क्षेत्रका जानकारहरुको बुझाई थियो । अमेरिकासँगको उच्च तहको द्विपक्षीय भेटलाई प्रस्तुत गरेर ज्ञवालीले नेपालको विदेश सम्बन्ध बलियो हुँदै गएको तर्क गरेका थिए । ह्वाइट हाउस र युएसएडका वरिष्ठ अधिकारीसँग समेत ज्ञवालीले भेटे ।

रणनीतिक साझेदार

अमेरिकाले नेपाललाई रणनीतिक साझेदार भनेको छ । उसको रक्षा विभागको इन्डो प्यासिफिक रणनीति प्रतिवेदनमा नेपाल रणनीतिक साझेदार देश उल्लेख गरेको छ । द्विपक्षीय सैनिक सम्बन्धबारे भएका गतिविधि उल्लेख छ ।

दुई उदीयमान शक्ति भारत र चीनबीच हुनुले पनि अमेरिकाको नेपालमा चासो बढेको हो । उसले नेपाललाई इन्डो प्यासिफिक क्षेत्रलाई मध्यनजर गरी रणनीतिक साझेदार भन्नुमा उसको रणनीतिक स्वार्थ जोडिएको छ ।

नेपालमा चीनको बढ्दो प्रभावका कारण अमेरिकाले नेपालमा चासो बढाएको देखिदैछ । ओली सरकारलाई चीनसँग बढी नजिकिएको भनिदै आएको थियो । नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईमा हस्ताक्षर गरको र ओली प्रधानमन्त्री भएपछि बीआइआर सम्बन्धि गतिविधि बढेको छ ।

के हो इन्डो–प्यासिफिक क्षेत्र

इन्डो-प्यासिफिक क्षेत्रमा अष्ट्रेलिया, बँगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, फिजी, भारत, इन्डोनेशिया, जापान, लाओस, मलेशिया, मालदिभ्स, म्यानमा, नेपाल, न्युजिल्याण्ड, पपुवा न्युगिनी, फिलिपिन्स, सिंगापुर, श्रीलंका, ताइवान, थाइल्याण्ड, पूर्वी टिमोर, संयुक्त राज्य अमेरिका र भियतनाम पर्दछन् । यी देशहरु पर्ने इन्डो प्यासिफक क्षेत्रलाई अमेरिकाले रणनीतिक दृष्टिले प्राथमिकता दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्