Logo

विवाहमा नाँचगान गरेको भन्दै छोरीहरुको हत्या गर्ने निर्दयी बाबुहरुलाई सजाय (भिडियोसहित)



विवाहमा महिलाले नाँचगान गर्नु सामान्य नै हो । तर, पाकिस्तानमा भएको एउटा विवाहमा पुरुषसँग बसेर नाँचगान गर्दा पाँचजना महिलाले ज्यान गुमाउनुपर्यो । उनीहरु आफ्नै बाबु र दाजुबाट मारिए । शव गुपचुप गाडेर गायब पारियो । स्थानीय संस्कारविरुद्ध गएको भन्दै कथित प्रतिष्ठा जोगाउने नाममा ती युवतीहरुको ज्यान लिइएको थियो । घटना बाहिर ल्याउने पुरुष र उनका भाईको समेत हत्या भइसकेको छ ।

सन् २०११ मा भएको एउटा विवाहमा महिलाहरुले नाँचगान गर्दै ताली बजाएको दृश्य भिडियोमार्फत् बाहिर आयो । घटनामा मारिएका भनिएका तीनजना महिलाको शव समेत फेला परेन । अन्य दुईको स्थिति अझै अज्ञात रहेको छ ।

नाँचगान गर्नेमध्ये बजीगा, सरिन जान, बेगम जान, अमिना र सहिना भिडियोमा देखिएका थिए । उनीहरु नाँचगान गरिरहक्दा एकजना पुरुष पनि नाँचेको देखिए । अर्को पुरुष भिडियो खिचिरहेका थिए । यसलाई त्यहाँको परम्परागत समाजले धर्म र संस्कृतिविरुद्ध भन्दै महिलाको हत्या भएको थियो । स्थानीय संस्कार अनुसार महिला र पुरुष एकै ठाउँमा नाँचगान गर्न मिल्दैन जुन उनीहरुको धर्मविरुद्ध हुनजान्छ ।

महिलाहरु मारिएपछि अफजल कोहिस्तानीले घटना बाहिर ल्याए । नाँचगानमा सहभागी दुई पुरुषमध्येका एकजनाका दाजुले भाइहरुको जीवन रक्षाका लागि घटना बाहिर ल्याएका थिए । घटना बाहिर ल्याएपछि सन् २०१३ मा कोहिस्तानीको एकजना भाईको हत्या भयो । उनको घरमा आगो लगाइयो । कोहिस्तानी यसै वर्षको मार्चमा एबोटावादमा गोली हानी मारिए । घटनाबारे गहिरो अनुसन्धान भयो । अदालतले फैसला सुनाउन घटना भएको मितिले सात वर्ष लाग्यो ।

घटनामा मारिएकामध्ये बजिगाका बाबु सविर, सरिन जानका बाबु सहिर र बेगम जानका दाजु ओमर खानलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot