Logo

(फलोअप समाचार) त्रिविको प्रश्नपत्रमाथि प्रश्नै प्रश्न, शिक्षामन्त्रीले कावा उपकुलपतिलाई दिए कारबाहीको निर्देशन



काठमाडौं, ३ असोज । त्रिभुवन विश्वविद्यालयमा एउटा प्रश्नपत्रको विवादले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ भने विश्वविद्यालय पदाधिकारीहरुको गैरकानुनी गतिविधि र बलमिच्याईले नकारात्मक सन्देश प्रवाह भएको छ । गत पुसमा लिइएको स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकान्सिकको प्रश्नमा कुल ४५ पूर्णांकमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः संचालन गरिएपछि यो विश्व सरकारको विभिन्न निकायसम्म पुगेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चासो दिएका छन् । उनको पत्रमा त्रुटी गर्नेमाथि आवश्यक कारबाही समेत गर्न निर्देशन दिइएको छ ।

बिहिबार मन्त्री पोखरेलले कार्यवाहक उपकुलपति प्राध्यापक सुधा त्रिपाठीलाई बोलाएर यसबारे जानकारी लिएका थिए । उनले यसअघि पत्र लेखेर यसबारे तत्काल कारबाही गर्न निर्देशन पत्र दिएका छन् । उनले पत्रमा उचित कदम चाल्न र छानविन गर्न भनेका छन् । कानुनको खिलाफमा जाने गरी परीक्षा लिएको र परीक्षाफल प्रकाशित गरिएको खुलासा भएपछि यो विषयको ५ असोजमा हुने तय भएको परीक्षामाथि समेत प्रश्न उठेको छ । परीक्षा लिइएमा यसको वैधतामाथि पनि प्रश्न उठ्ने देखिएको छ । यसबारे चासो लिएर कानुनी प्रक्रियामा गएका अधिवक्ता आशिष पौडेलले पुसमा लिइएको परीक्षा, प्रकाशित परीक्षाफल समेत अवैध भएको भन्दै अब लिइने परीक्षा स्वतः अवैध हुने जिकिर गरे ।

के भएको थियो
त्रिभुवन विश्वविद्यालयले पुसमा उक्त विषयको परीक्षा लियो । प्रश्नमा पाठ्यक्रमबाहिरको विषय समावेश भएपछि विद्यार्थी विरोध गरे । प्रश्नपत्र फिर्ता लिइयो र त्यसको एक घन्टापछि पुनः परीक्षा लिइयो । यसबारे उजूरी परेपछि त्रिभुवन विश्वविद्यालयमा तरंग आएको थियो ।
विभिन्न चरणमा बैठक बसी छानविन समिति समेत गठन भई सो छानविन समितिले प्रश्नपत्रमा त्रुटी भएको निष्कर्ष निकालेको थियो । त्रुटीका रहेको निष्कर्षका बाबजुद तत्कालिन शिक्षाध्यक्ष तथा हालकी कार्यवाहक उपकुलपति प्राध्यापक सुधा त्रिपाठीले परीक्षा रद्द गर्नुनपर्ने गरी आठ बुँदे निर्देशन दिएकी थिइन् । छानविन समितिको निष्कर्ष र शिक्षाध्यक्षले विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राध्यापक रामप्रसाद खतिवडालाई दिएको आठ बुँदे निर्देशन गुपचुप राखिएको थियो ।

 

अवैधानिक कार्य गरी परीक्षाफल प्रकाशित गरिएको थियो । विद्यार्थीको विरोध, राष्टिय शतर्कता केन्द्रले प्रतिक्रिया माग्नुका बाबजुद परीक्षाफल प्रकाशित गरेपछि यसबारे सम्पूर्ण तथ्य माग्दै राष्टिय सूचना आयोगमा कानुन विषयको अभ्यास गरिरहेका आशिष पौडेल पुगेका थिए । उनले सूचनाको हक प्रयोग गरी सम्पूर्ण सूचना संकलन गर्दा कानुनको खिलाफ हुनेगरी परीक्षा लिइएको, परीक्षाफल प्रकाशित गर्न निर्देशन दिइएको र परीक्षाफल समेत प्रकाशित गरेको पाइएको थियो । छानविन समितिले त्रुटी उल्लेख गर्नाका बाबजुद त्यसलाई लत्याएर निर्णय लिएको तथ्य भेटिएको थियो ।

२ भदौमा त्रुटी सच्याएर विगतको परीक्षाफल प्रकाशित गर्न दिएको निर्देशन सच्याउन पौडेलले निवेदन दिएपछि तत्कालिन शिक्षाध्यक्ष त्रिपाठीले विगतको निर्देशन फिर्ता लिएको पत्र डीनलाई पठाएकी थिइन् । उनले पत्र पठाएपनि डीनले कारबाही अगाडि बढाउन अस्वीकार गरेका छन् । शिक्षाध्यक्षको निर्देशन डीन खतिवडाले मान्न इन्कार गरेपछि उनको पदमाथि नै संकट देखिएको छ । अत्यन्त जरुरीको छाप लगाई पत्रको प्राथमिकता तोकी निर्देशन दिई पत्रमा हस्ताक्षर गरेको दिइन्छ । यस्तो पत्रलाई समेत डीन खतिवडाले लत्याइदिएपछि शिक्षाध्यक्ष त्रिपाठी र डीन खतिवडाबीच विवाद परेको छ ।

त्रिविभित्रबाट अवैधानिक परीक्षा र परीक्षाफलको टुंगो नलागेपछि त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलसम्म यसबारे उजूरी पुगेको छ । उजूरीमा त्रिवि ऐन, २०४९ को दफा १७ को उपदफा ३ को प्रयोग गरी विद्यार्थीको भविष्य रक्षार्थ आवश्यक निर्देशन दिन र कदम चाल्न आग्रह गरिएको छ ।

अवैधानिक परीक्षा गरेर परीक्षाफल प्रकाशित गरेको अवस्थामा बेवास्ता गरी स्नातकोत्तर प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्स विषयको समेत परीक्षा मिति तोकिएको छ । २९ भदौमा प्रथम सेमेस्टरको परीक्षा शुरु भइसकेको छ भने ५ असोजमा यो विषयको परीक्षा तोकिएकाले यसले झन् ठूलो वैधानिक प्रश्न उठाउने देखिएको छ । यसअघिको परीक्षामा कानुनी प्रश्न उठिसक्दा फेरि परीक्षा गर्दा थप कानुनी जटिलता आउन सक्ने देखिएको छ । तर, डीन प्राध्यापक रामप्रसाद खतिवडा असोज ५ मा क्वान्टम मेकानिक्सको परीक्षा मिति तय भइसकेको बताए । विगतमा परीक्षा रद्द गर्नुपर्ने माग गर्नेहरु परीक्षामा सामेल नै नभएकाहरु भएको बताए । उनले भने, ‘ज-जसले परीक्षा दिएका छैनन्, ती परीक्षा रद्द गर्न लागेका छन् ।’

प्राध्यापक सुधा त्रिपाठीले आवश्यक निर्णय लिई यसको जानकारी दिनका लागि डिन खतिवडालाइ निर्देशन पठाएको बताइन् । त्यसबारे कुनै जवाफ नआएको जानकारी दिइन् । उनले भनिन्, ‘मैंले डीनलाई निर्देशन दिएकी छु, त्यसको कुनै जवाफ आएको छैन ।’ यसबारे आवश्यक निर्णय डीनले गर्नुपर्ने उनको जिकिर थियो । आफूसमक्ष क्वान्टम मेकानिजमको परीक्षाबारे आजपनि एउटा पत्र आएको र ले कावा सलाई समेत डीनसमक्ष पठाएको खुलाइन् ।

तत्कालिन शिक्षाध्यक्ष त्रिपाठीले अत्यन्त जरुरी लेखेर पठाएको पत्रको पालना नहुनुले डीन खतिवडाको पदीय दात्विमाथि प्रश्न उठेको छ । सुशासन नियमावली २०६५ को नियम ३६ अनुसार आफैले कार्य फछ्र्यौट गर्नुपदा तीन दिनभित्र गर्नुपर्नेमा सो नगरी गैरजिम्मेवारीपूर्ण तवरले निर्णय नै नलिई बसेको हुँदा सुशासन ऐनको दफा २३ ४, ५ सार्थ सुशासन नियमावलीको नियम ४४ बमोजिम कार्य फछ्र्यौट नगर्ने डीनमाथि उपकुलपतिले कारबाही गर्नसक्ने प्रावधान छ । कार्यवाहक उपकुलपति त्रिपाठीले कारबाही गर्न सक्ने भएपनि उनले त्यसो गर्न चाहेकी छैनन् । दुवैजना जिम्मेवारी र कारबाहीबाट पन्छिएर एक अर्कालाई जोगाउन लागेका छन् । डिनले कार्यवाहक उपकुलपतिको निर्देशन मानेका छैनन् भने कार्यवाहक उपकुलपति त्रिपाठी सबै डीनको हातमा रहेको भन्दै पन्छिएकी छिन् । उनले भनिन्, ‘यो मामला डीनको हातमा छ ।’

यस घटनाबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेल समक्ष उजूरी पुगेको छ । पत्रमा अवैधानिक तरिकाले लिइएको परीक्षा र परीक्षाफल रद्द गरी सो विषयको परीक्षा संचालन गरेर मात्र नियमित परीक्षा गर्न गराउन र दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरिएको छ ।
यस मामलामा गहिरो अध्ययन गरिरहेका आशिष पौडेलका अनुसार प्रमाण ऐन २०३१ को दफा २० ले छानविन समितिको प्रतिवेदनलाई महत्वपूर्ण प्रमाणको रुपमा लिएको छ । उनले छानविन समितिले प्रश्नपत्रमा गल्ती छ भनेर किटान गर्दा गर्दै सो परीक्षा रद्द नगर्न र दोषी पदाधिकारी तथा शिक्षकहरुलाई जोगाउने नियतले प्राध्यापक सुधा त्रिपाठीले भूमिका खेलेकीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिम मतियार भएको तर्क गरे । मतियार हुनेलाई मुख्य दोषीलाई हुने सजायको आधा सजाय हुने कानुनी व्यवस्था रहेको पौडेलले बताए । तर, विशिष्ट पदाधिकारी भएमा थप तीन वर्ष कैद हुने व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा २४ मा व्यवस्था भएको उनको भनाई थियो ।
(यो घटनासँग सम्बन्धित सम्पूर्ण विवरण रिपोर्टर्स नेपालसँग सुरक्षित छ)



प्रतिक्रिया दिनुहोस्

Screenshot