Logo

दशैँको संस्कृति छोडेर विकृतिलाई महत्व



काठमाण्डौ । नेपाली समाजले विगतमा आफ्नो स्तर अनुसार खर्च गरी सामाजिक सद्भाव नखल्बलाइ धूमधामका साथ मनाउने दसैँ अहिले भने तड्क भड्कका साथ मनाउने प्रचलन बढ्दो छ ।

एकले अर्काको देखासिखी गर्दै आफनो क्षमता भन्दा माथि रहेर ऋणमा डुबेर भए पनि भड्किलो तरिकाले दसैंँ मनाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको छ । समाजलाई पाच्य नहुने संस्कार बढ्दै जानु हाम्रो लागि दुखद हो ।

हाम्रो समाजलाई पाच्य नहुने संस्कार बढ्दै जानु हाम्रो लागि दुखत हो । दशैँका नाममा नेपाली समाजले विकृति÷विसंगति रुचाउन थालेको देखिएको छ । जुवा, तास, मदिरा, एकापसमा झैझगडा, काटमार जस्ता विकृति बढ्दै गएका छन् भने महँगा कपडा किन्ने र सामाजिक सद्भाव विथोलिने गरिएको छ । पहिलेको दशैँ र अहिले मनाउने दशैँमा पनि फरक छ ।

दशैँमा हुने पारिवारिक पुनर्मिलन, धार्मिक सद्भाव, साँस्कृतिक जागरणसँगसँगै सामाजिक एकताजस्ता सकारात्मक पाटो हुँदाहुँदै पनि चाडको निहुँमा जाँड–रक्सी खाएर बिग्रने, पिङ खेल्न जाँदा लडाइँ–झगडा गर्ने, राम्रा कपडा किन्ने निहुँमा अनावश्यक खर्च गर्ने, समाजमा आफ्नो हैसियत उच्च राख्ने बहानामा अरूको भन्दा ठूलो खसी किनेर ल्याउनैपर्ने, आशिर्वादलाई भन्दा पनि दक्षिणालाई बढी जोड दिएर नचाहिँदो रूपमा खर्च गर्नेजस्ता सामाजिक विकृति पनि यसैमा मिसिन्छन् ।

विकृति भनेका कसैले कर लगाएर नभई, आफैँले रहर गरेर भित्रिने विकृति हुन् तर यत्रो दशैँजस्तो ठूलो चाडमा केटाकेटीको मन किन रुवाउनु भनेर खसी खोज्नैपर्ने, पैसा नहुँदानहुँदै पनि जहान–छोराछोरीलाई चित्त बुझाउन नयाँ कपडा किन्नैपर्ने, अन्तबाट टीका लगाउन आएका छोरीचेलीलाई फुको हात नफर्काउन दक्षिणा दिनैपर्नेजस्ता चलन बाध्यात्मक विकृति हुन् ।

कतिलाई त हदैसम्मको मितव्ययिताले पनि दशैँ धान्न गाह्रोगाह्रो नै पर्दछ । समाजका निम्नवर्गीय सदस्यका लागि दशैँ यसरी अभिशापजस्तो पनि बन्न पुगेको छ ।

मुख्य कुरो त हरेक चाड विधिपूर्वक हुनै छाडिसके । यता संस्कृतिविद्यहरु भने बडादशैलाई बिज्ञान प्रविधिको बिकास सगैँ मानिस अघि बढेको बताउँछन् । तर मानिसहरुले जानवरहरुको हत्या गर्ने जस समाजमा बिकृति भएको बताउँछन् । तर सबैको नजरमा अत्याधिक मदिरापान र अनावश्यक खर्क नै मुख्म विकृति हो ।

दशैँ पर्वको सामाजिक सन्दर्भमा एकाध दुर्बल पक्ष देखिए पनि अधिकांश रूपमा सबल पक्ष नै देखिन्छ । घाँटी हेरी हाड निल्न जान्यो भने, झगडा गर्नुको साटो सामाजिक सद्भाव कायम राख्न सकियो भने अनि वस्त्र र आभूषण प्रदर्शनको सट्टामा प्रेम, सत्कार, माया र सद्भाव बाँड्न सकियो भने दशैँ दशा होइन, दशैँ नै बन्न सक्छ । त्यसैले मितव्ययी बनौँ, खुसी भएर मनाऔँ अनि साँस्कृतिक संरक्षणमा एकजुट भएर लाग्न सकौँ ।



प्रतिक्रिया दिनुहोस्