Logo

म्ह पूजाको महत्व



काठमाडौं,११ कात्तिक । म्ह पूजा नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै धर्ममा आस्था राख्ने नेवार समुदायमा आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने चलन छ ।

यसमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पूजा गर्ने गरिन्छ । म्हःपूजा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुले श्रद्धापूर्वक मनाउने भएकाले यस पर्वलाई धार्मिक समन्वयकोे रूपमा पनि लिइन्छ ।

म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजाविधि अघि सारी आफ्नो पूजा आफै गर्न लगाउने चलन छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दीर्घायुको कामना गर्ने गरिन्छ ।

विदेशमा वसेका नेपालीहरूले पनि म्हःपूजालाई आफ्नो मौलिक पहिचानका साथ मनाउने गर्दछन् । आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ ।

म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो । भगवान खोज्न अन्त कतै जानुपर्दैन आफू नै भगवान हो भन्ने सन्देश हो, म्हः पूजा । आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरुप म्हः पूजा गरिने चलन रहिआएको छ ।



प्रतिक्रिया दिनुहोस्