काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका छन् । मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले सत्ता र शक्तिमा बसेकाहरुले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गरेका हुन् ।
प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मियाँले जतिसुकै समय लागेपनि सत्यको जीत हुने बताउँदै दोषीलाई कारबाही गराएरै छाड्ने बताए । उनले भने,‘राज्य नै घटना लुकाउन र दोषीलाई बचाउन लागेको प्रमाण मसँग छ ।’ तत्कालिन सरकार, प्रहरी प्रशासन सबै मिलेर घटना दबाएको उनको भनाई थियो ।
उनले भने,‘म यही रिपोर्टर्स क्लबको पुतलीसडकस्थित मञ्चमा उभिएर न्यायको भीख माग्न आएको थिएँ तर सुनुवाई भएन ।’ १२ वर्ष अगाडि यही घटनाबारे सबैलाई जानकारी गराउँदा पनि कहीं कतैबाट सुनुवाई नहुँदा दोषीले टाउको उठाएर हिंडेको बताए । उनले भने,‘घटनामा महताब आलम, अफताब आलम, शेख भदै ९सेराज०, कृष्ण लामा लगायतको प्रत्यक्ष संलग्नता छ ।’