Logo

प्रधानमन्त्री अब पूर्ण स्वस्थ हुनुहुन्छ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ : ग्राण्डी अस्पताल



काठमाडौं, १४ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली आजै राति ८ वा ९ बजे डिस्चार्ज हुने भएका छन् । अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको जानकारी दिए ।

अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै डा. पाण्डेले भने,‘उहाँको स्वास्थ्य अवस्था एकदमै राम्रो छ । प्राईममिनिष्टर ईस पर्फेक्टली फाईन ।’ हिजो भर्ना भएका प्रधानमन्त्री ओलीको हिजो र आज गरि मिर्गौलाको दुईपटक डायलाइसिस गरिएको हो । प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिनको मात्रा बढि भएर नै डायलाईसिस गरिएको पाण्डेले बताए ।

तर, कति मात्रा हो भन्ने कुरा उनले खुलाउन नै चाहेनन् । पत्रकारहरुले पटक पटक क्रियटिनिनको मात्राबारे जान्न खोज्दा उनले यो पब्लिक कन्सर्न नभएको भन्दै जवाफ दिनबाट पन्छिएका थिए । त्यस्तै, उनले प्रधानमन्त्रीलाई आइसियुमा नराखिएको पनि जिकिर गरे । उनले भने,‘‘उहाँलाई डायलासिस रूममा राखेको हो ।’

उनले प्रधानमन्त्री राष्ट्रको सम्पत्ति भएकोले उनको स्वास्थ्यबारे ढाँट्न जरुरी नभएको पनि बताए । उनले भने,‘अहिले हामी राम्रो अवस्थामा छौं । तपाईहरु निश्चिन्त हुनुहोस् ।’ प्रधानमन्त्रीलाई थप उपचारको लागि विदेश लैजानुपर्छ वा पर्दैन् भन्ने प्रश्नमा उनले भने,‘नेपालमा एक्सलेन्ट टिम छ । ब्लड टेष्टको एनालाईसिस भैसकेको छ । अहिले अवस्था राम्रो छ । भोलिको अवस्था म भन्न सक्दिन् । क्रियाटिनको मात्रा पब्लिकको कन्सर्न होईन् । जनरल कन्डिसन राम्रो छ ।’ हिजो आफूहरुले उपचारको बारेमा धेरै कुरा लिक नगरेकै हो भनेर उनले स्विकारे । उनले भने,‘पेसेन्ट प्राईभेसी एकदम महत्वपूर्ण हुन्छ । यो कुरा भोलि तपाईहरुले पनि थाहा पाउनुहुनेछ । डा. पाण्डेले किन भन्यो भनेर ?’

प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार जाँदापनि उनीसँगै चिकित्सकको टिम पनि सँगै जाने उनले जनाए । उनले भने,‘डा. दिव्या सिंह शाह उहाँसँगै जानुहुन्छ ।’ उनले आफू त खुशी भएको प्रतिक्रिया दिए । उनले भने,‘प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने कुरा ९९ प्रतिशत छ, मलाई लाग्छ राति ८ वा ९ बजे सम्म निवास जानुहुन्छ ।’

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ। उनले गत भदौमा सिंगापुर गएर प्लाज्माफेरेसिसु गरेका थिए। रगतमा ुएन्टिबडीु बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्