बैतडी, १५ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ ।
स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताए ।
विभिन्न वडा तथा स्थानीय तहले सिफारिस गरेका व्यक्तिको नामावली सङ्कलनको काम भइरहेको र क्षेत्रीय कार्यालयबाट मिटर आउनेबित्तिकै विद्युत् मिटर उपलब्ध गराउने उनले बताए ।
नयाँ विद्युतीकरण भएका ठाउँका नागरिकलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने सुपरभाइजर लेखकले बताए । अहिलेसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितको नाम सिफारिस भएर आएको लेखकले बताए ।
यसैबीच पाटन नगरपालिकाभित्रका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका छन् । नगरपालिकाभित्रका अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई प्रत्येक वडामा विद्युत् मिटर वितरणको तयारी भएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।
नगरपालिकाका एक वडाबाट सात जना र नगरपालिकाले सिफारिस गरेका पाँच जना गरी पाटन नगरपालिकाभरिका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका हुन् । विद्युत् प्राधिकरणको कार्यक्रमअनुसार वडा र नगरपालिकाले सिफारिस गरेका व्यक्तिको घरमा निःशुल्करुपमा विद्युत् मिटर वितरण गरिने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।